पोखरा । गण्डकी प्रदेशसभाका माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाए मध्यावधि चुनाव हुने खतरा रहेको बताएका छन् । उनले मध्यावधि निर्वाचन रोक्न मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री खगराज अधिकारीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै चुमानले भने, ‘हामी यसै यसै जाँदा मध्यावधितिर जाने त होइन, मध्यावधितिर जाने खतरा त छैन ? अहिले जसरी मुख्यमन्त्री खगराजज्यूले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्नुभयो । यो प्रस्तावलाई सघाउनु भनेको मध्यावधि रोक्ने हो । मध्यावधि रोक्नका लागि मतदान गर्ने हो ।’
प्रदेशसभामा कुनै प्रस्तावको पक्षमा बराबर मत परेमा सभामुखले निर्णायक मत दिन सक्ने माओवादी नेता चुमानले बताए । सभामुखको भूमिका के हुने, कस्तो हुने भन्ने विषयमा पनि अझै व्याख्या हुन जरुरी रहेको चुमानले बताएका हुन् ।
‘संसदै नरहने अवस्था आउँदा सभामुखको भूमिका के हुने ? निर्णायक मत भनेको के हो ? त्यसको पनि व्याख्या हुन जरुरी छ ?,’ चुमानले भने, ‘जोर संख्या भएको प्रदेशमा समस्या छ । व्याख्या हुँदै गएको छ र अझै हुँदै जालान् ।’