04, May, 2024

घोडाघोडी नगरको जाँड पार्टीमा लफडा, प्रशासकीय अधिकृतसँग विवादपछि वडाध्यक्षले टेबल फुटाए

Bagmati Voice
संवाददाता
११ मंसिर २०७९, आईतवार ०९:१६ | १ साल अगाडी

कैलाली । घोडाघोडी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत दीपक आचार्यको सरकारी क्वार्टरमा गरिएको जाँड पार्टीमा लफडा भएको छ ।

घोडाघोडीका मेयर खडक रावल, १ का अध्यक्ष घनश्याम ओझा, ४ का अध्यक्ष भरत शाही ७ का जुगराम चौधरी र १२ का वडाध्यक्ष रामदुलारी चौधरी पनि पार्टीमा सहभागी थिए ।

क्वाटर नजिकै रहेको होटल माछा घरमा रहेका मेयरसहितका वडाध्यक्षसँग बसेर मदिरा सेवन गरेका अधिकृत आचार्य र १ का वडाध्यक्ष ओझाबीच त्यहीँ विवाद सुरू भएको थियो ।

कि तपाईं बस्नुस् कि म बस्छु भनेर त्यहीँ वडाअध्यक्षले भन्नू भएको थियो´ सँगै रहेका एकजनाले भने,त्यसपछि हाकिम सा’प जानुभयो ।´

होटलपछि आवासमा पुगेर पुन: खानपिनका लागि आग्रह गर्दै आचार्यले सबैलाई बोलाएको बताइएको छ । त्यहाँ हाकिम र १ का अध्यक्षले बियर, मेयर र ७ का अध्यक्षले भोड्का खाएको बताइएको छ । अन्य २ अध्यक्षले भने मदिरा सेवन गरेनन् ।

फेरि हाकिम र १ का अध्यक्षबीच घोचपेच चलेको थियो । पुराना बखेडा झिकेपछि प्रशासकीय अधिकृत आचार्यले अध्यक्षलाई अपशब्द बोलेको र सबैले सम्झाउँदा नमानेको बताइएको छ ।

`अध्यक्षलाई आफ्नै क्वाटरमा बोलाएर गाली गरेपछि उहाँ पनि आक्रोशमा आउनुभयो र टेबलमा खुट्टा बजार्नु भयो । त्यसपछि टेबल फुट्यो´, सँगै रहेका एकजनाले सुनाए ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले पनि नगरपालिकाका कार्यकारी प्रमुख साँझैबाट मदिरामा लठ्ठ रहेको बताए । पार्टी चल्नुभन्दा अगाडि प्रमुख प्रशासकीय अधिकृत इप्रका सुखडमा पुगेको बताइएको छ । गेटमा पुगेका उनलाई प्रहरी जवानले सम्झाएर फर्काएका थिए ।

मेयर रावलले वडाध्यक्षलाई घोचपेच गरेपछि टेबुल फोडेको बताए । आफूले चित्त नबुझेका केही कुरा मेयरलाई सोधेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । उनले केहीबेरमा पत्रकार सम्मेलन गरेर विस्तृत विवरण बाहिर ल्याउने जानकारी दिए ।

११ मंसिर २०७९, आईतवार ०९:१६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading