04, May, 2024

संविधानको रक्षा गर्ने र विरोधीबीच लडाइँको फैसला मंसिर ४ मा जनताले गर्छन्: प्रचण्ड

Bagmati Voice
संवाददाता
२८ कार्तिक २०७९, सोमबार ०९:०७ | १ साल अगाडी

काठमाडौ । काठमाडौ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपालिको चुनाव संविधान रक्षा गर्ने र विरोध गर्नेबीचको लडाइँ भएको बताएका छन्।

यो लडाइँको फैसला मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावबाट जनताले गर्ने उनले बताए।

गोरखाको सहिद लखन गाउँपालिकामा पर्ने घैरूङमा आइतबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधानको रक्षा गर्ने सत्ता गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरेका थिए।

‘एउटा गठबन्धन केपी ओलीले नेतृत्व गर्नुभएको छ, जहाँ संविधान विरोधी, गणतन्त्र विरोधी शक्तिहरू मिलेर बनेको छ’, उनले भने, ‘अर्को गठबन्धन मेरो र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा छ, जसले संविधानको रक्षा गर्दै आएको छ। अबको चुनावमा जनताले संविधानको विरोधीलाई परास्त गर्नुपर्छ।’

प्रचण्ड गोरखा २ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार छन्। तर प्रचण्ड आइतबार भने गोरखा क्षेत्र नम्बर १ का विभिन्न गाउँमा भएका चुनावी सभाहरूमा सहभागी रहेका थिए। सत्ता गठबन्धनबाट गोरखा १ प्रतिनिधि सभामा नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईं उम्मेदवार छन्।

प्रचण्डले आफू समग्र गोरखा विकासका लागि आएको पनि बताउने गरेका छन्। ‘प्राविधिक कारणले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडेको छु। तर म कुनै विशेष क्षेत्रभन्दा पनि समग्र गोरखाको विकासका लागि गोरखा आएको हुँ,’ उनले भने।

२८ कार्तिक २०७९, सोमबार ०९:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading