06, May, 2024

पूर्व कानुनमन्त्री अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता र मतदाता नामावलीमा नाम कायमै

Bagmati Voice
संवाददाता
२० कार्तिक २०७९, आईतवार १५:१७ | १ साल अगाडी

काठमाडौं । पूर्व कानुनमन्त्री अग्नीप्रसाद खरेलका अमेरिकी सेनामा कार्यरत छोरा निशानको नेपाली नागरिकता र मतदाता नामावलीमा नाम अझै कायम रहेको पाइएको छ।

निशानले अमेरिकी नागरिकता लिएको भए नेपाली नागरिकता कायम राख्नु र मतदाता नामावलीमा नाम रहनु कानुनविपरीत हुन्छ। नेपालमा दोहोरो नागरिकता लिन पाइने कानुन छैन।

अमेरिकी सेनामा कुनै पनि विदेशी भर्ना हुन स्थायी बसोबासको अनुमति (ग्रिन कार्ड) भएको वा अमेरिकाको नागरिकता लिएको हुनुपर्छ ।

ग्रिन कार्ड पाएको केही वर्षमा सर्त पूरा गरेर अमेरिकाको नागरिकता लिन सकिन्छ। अमेरिकी सेनामा भर्ना भएपछि त्यहाँको नागरिकता पाउन योग्य हुन्छ र नागरिकता लिन झनै सजिलो हुन्छ ।

निशानले अमेरिकी नागरिकता लिएका भए नेपाली नागरिकता त्याग्नुपर्छ। नेपाली नागरिकता त्यागेकाको मतदाता नामावली हटाइन्छ। निशानको भने मतदाता नामावलीमा नाम कायमै छ। काठमाडौं क्षेत्र नम्बर २ को मतदाता नामावलीमा उनको नाम रहेको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छ ।

नागरिकता ऐनअनुसार विदेशी नागरिकता लिएको व्यक्तिले नेपाली नागरिकता त्यागको सूचना दर्ता गराएपछि मात्र नेपाली नागरिकता कायम नरहने कानुन छ ।

निशानले अमेरिकी सेनामा भर्ती भएर त्यहाँको नागरिकता लिएका भए किन मतदाता नामावलीमा नाम कायम छ भनेर हामीले खरेललाई सोधेका थियौं।

खरेलले आफ्ना छोराले अमेरिकी नागरिकता लिएको इन्कार गरेनन्। तर उक्त कुरा यकिनसँग भन्न नसक्ने बताउँदै उनले नेपाली नागरिकता त्याग्ने-नत्याग्ने छोराकै कुरा भएको जवाफ दिए।

‘मेरो छोराले कहाँ जागिर खाने भन्ने उसको छनोटको अधिकार हो । ऊ अमेरिकी सेनामा जागिर गरेको सात वर्षजति भयो । यसबीच उसले यहाँ आएर मतदान गरेको छैन । यहाँको नागरिकता त्याग्ने-नत्याग्ने उसकै कुरा हो । मैले त्यहाँको नागरिकता लिएको हो कि होइन भनेर सोधेको छैन,’ खरेलले भने ।

झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उम्मेदवार बनेका खरेल कानुनमन्त्री र महान्यायाधिवक्ता रहिसकेका छन् ।

२० कार्तिक २०७९, आईतवार १५:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading