काठमाडौं । सरकारले गैरआवासीय नेपालीका लागि त्रिभुवन विमानस्थलमा बिनाशर्त अनअराइभल भिसा खुला गरेको छ । अध्यागमन विभागले सूचना जारी गर्दै अनअराइभल भिसा पाउने सूचीमा गैरआवासीय नेपालीलाई समेत राखिएको छ ।
यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएमा मात्र अनअराइभल भिसा दिने गरेको थियो । अध्यागमन विभागले १० मंसिर, १० पुस र ११ माघको अनुसार मन्त्रिपरिषद्को निर्णयबाट भएका व्यवस्थाहरु सार्वजनिक गरेको छ।
जसअनुसार अब नेपाली मुलका विदेशी (राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएको) वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली नागरिकलाई बिना शर्त अनअराइभल भिसा दिइने भएको छ ।
यसबाहेक कुटनीतिक/औपचारिक राहदान बाहक वा यूएनका कर्मचारीले समेत बिना शर्त अनअराइभल भिसा पाउने छन् । नेपालमा रहेका अन्तर्राष्टिय संस्थामा कार्यरत विदेशीलाई समेत अब बीना शर्त अनअराइभल भिसा दिइने भएको छ ।
विदेशबाटै नेपालको भिसा लिएर आएमा भने सबै विदेशीले प्रवेश अनुमति पाएका छन् । भिसा नभएका विदेशी पर्यटकले भने नेपाली नियोगबाटै भिसा लिएर नेपाल आउनु पर्ने भएको छ ।
भिसा लिएर आउन सम्भव नभएका भने सम्बन्धित सरकारी निकायको सिफारिस वा पूर्वस्वीकृति अनिवार्य गरिएको छ । त्यसो भएमा भने प्रवेश बिन्दुमा भिसा दिइने भएको छ ।
अनअराइभल सुविधा भने अहिले त्रिभुवन विमानस्थलमा मात्र उपलब्ध हुनेछ । स्थलमार्गबाट प्रवेश गर्न चाहने विदेशी नागरिकले भने नेपाल सरकारको पूर्वस्वीकृति लिनुपर्ने भएको छ ।
आइतबार सार्वजनिक नयाँ सूचना अनुसार यसअघिका स्वास्थ्य सम्बन्धी प्रोटोकलका नियम भने यथावत नै राखिएको छ । नेपाल आउनु अगाडी बढीमा ७२ घण्टा भित्रको पिसिआर नेगेटिभ आएको रिर्पोट र १० दिने क्वारेन्टिन भने अनिवार्य बस्नु पर्नेछ ।
जटिल स्वास्थ्य समस्या भएका, आफन्तको मृत्यु भई आफैं काजकिरियामा बस्नु पर्ने नेपाली वा नेपाली मुलुका विदेशी नागरिक र तीनका सन्तानलाई भने वैकल्पिक क्वारेन्टिनको व्यवस्थापन हुने भएको छ ।
नेपालबाट कुनै औपचारिक कार्यक्रममा भाग लिन विदेशमा गई पाँच दिन वा सो भन्दा कम अवधिमा नेपाल र्फकने पदाधिकारीले भने विदेशमा थप कोरोना परीक्षण गर्नु नपर्ने भएको छ । उनीहरुलाई नेपालमै गरिएको परिक्षण मान्य हुने छ । नेपाल फर्किएपछि पनि उनीहरुले क्वारेन्टिनमा बस्नु नपर्ने गरी छूट दिने निर्णय सरकारले गरेको छ ।








































