काठमाडौं । वैदशिक रोजगारीमा जानुअघि अब अनिवार्य रूपमा दुईदिने अभिमुखीकरण तालिम लिनुपर्ने भएको छ । यसअघिको पाठ्यक्रमअनुसार ११ घण्टाको अभिमुखीकरण तालिम ८ घण्टा गराउने गरिए पनि अबदेखि १२ घण्टाको तालिम अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको हो ।
वैदेशिक रोजगारीमा प्रस्थान गर्नुपूर्व दिइने अभिमुखीकरण तालिमको नयाँ पाठ्यक्रम वैदेशिक रोजगार बोर्डको २०७७ मङ्सिर १० गते बसेको बैठकबाट स्वीकृत भई कार्यान्वयनका लागि अघि बढेको जानकारी वैदेशिक रोजगार बोर्ड सचिवालयले बताएको छ ।
पाठ्यक्रम कार्यान्वयनका लागि प्रशिक्षकको तालिम लिएर बसेका तथा प्रशिक्षण गराइरहेकालाई पुनर्ताजकीकरण तालिममा समावेश गराइने बोर्ड सचिवालयका निर्देशक एवं प्रशिक्षण तथा अध्ययन अनुसन्धान शाखा प्रमुख मैयाँ कडेलले जानकारी दिइन् । तालिममा प्रशिक्षकलाई नयाँ पाठ्यक्रमको बारे जानकारी गराएपछि मात्र पाठ्यक्रम कार्यान्वयनमा जाने उनको भनाइ छ ।
नयाँ पाठ्यक्रम अनुसार तालिमको अवधि दुई घण्टाको हुने छ । प्रत्येक सत्र आमने–सामने पद्धतिबाट सञ्चालन हुनेछन् । तालिम प्रतिदिन ६ घण्टाका दरले दुई दिनको अवधिमा १२ घण्टा सञ्चालन हुनेछ । पाठ्यक्रममा रहेका विषयवस्तुमध्ये १० प्रतिशत बोर्डको सचिवालयले परिमार्जनसहित संशोधन गरी लागू गर्न सक्नेछ ।
तालिमका कक्षा सहजीकरण गर्दा सकेसम्म श्रव्यदृश्यको सामग्री कम्तीमा पनि ६० प्रतिशत प्रयोग गर्नुपर्नेछ भने, बढी सूचना र सञ्चारप्रविधिलाई प्रयोग गर्नुपर्नेछ ।
तालिमका लागि आवश्यक पाठ्यक्रम पाठ्यसामग्रीलगायत अन्य सामान तालिम सञ्चालन हुनुअघि नै व्यवस्था गरिसक्नुपर्नेछ । तालिम सहजीकरणका विधि तथा सूचनाप्रविधिलाई पाठ्यक्रमका विषयवस्तुसँग आवद्ध गरेर मात्र प्रयोग गर्नुपर्नेछ ।
तालिमको नियमित रूपमा वैदेशिक रोजगार बोर्डले अनलाइन प्रणालीबाट अनुगमन गर्ने बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए । अनुगमनको प्रतिवेदन नियमित रूपमा सम्बन्धित निकायमा पेश गरिने र सहभागीको मूल्यांकन निरन्तर रूपमा उनीहरूको तालिमको क्रममा निर्वाह गरेको भूमिका, सान्दर्भिक जागरुक र सहभागिताका आधारमा गरिने उनको भनाइ छ ।
बोर्डले स्वीकृत गरेको नयाँ पाठ्यक्रम अनुसार मलेसिया, खाडी मुलुक (साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स) मध्यपूर्व एशियाली मुलुक, जापान–दक्षिण कोरिया लगायतका मुलुकका लागि छुट्टा–छुट्टै देशगत रूपमा जानकारी गराउने गरी प्रस्थान पूर्वको अभिमुखीकरण तालिमको पाठ्यक्रममा व्यवस्था गरिएको पाठ्यक्रममा उल्लेख गरिएको छ । हाल बोर्डले पुनर्ताजगीकरणमा सहभागी हुन आवेदन माग गरेकोले सोही आवेदन दिएकालाई सहभागी गराएर दुईदिने तालिम दिएपछि मात्र नयाँ पाठ्यक्रम लागू गरिने बोर्डले जनाएको छ ।
वैदेशिक रोजगार नियमावली २०६४ को नियम २० मा वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगारमा जानुपूर्व बोर्डले स्वीकृत गरेको पाठ्यक्रम अनुसार अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ । नेपाल सरकारबाट अनुमतिप्राप्त अभिमुखीकरण तालिम प्रदायक संस्थाले अभिमुखीकरण तालिम सञ्चालन गर्दै आएका छन् ।








































