29, Apr, 2024

शेखर-गगन समूहका दोस्रो पुस्ताको बैठक, समान अवसरका लागि पार्टी कार्यालयमा धर्ना दिने

Bagmati Voice
संवाददाता
१० आश्विन २०७९, सोमबार १३:२० | १ साल अगाडी

काठमाडौं । नेपाली कांग्रेसको शेखर-गगन समूहले मंसिर ४ गते हुने निर्वाचनमा आफूहरुलाई पार्टीको ४० प्रतिशत सीट माग गर्दै बुधबार पार्टी केन्द्रीय कार्यालयमा एकघन्टा धर्ना दिने भएकाे छ ।

समूहको आज भएको बैठकले उक्त निर्णय गरेको शेखर समूहको दोस्रो तहका नेता मनोजमणि आचार्यले जानकारी दिएका हुन् ।

उनले पार्टीभित्र समान न्याय र अवसर प्राप्तिका लागि पार्टी सभापतिलाई दबाब दिने उद्देश्यले बुधबार एकघन्टा धर्ना दिन लागिएको बताए ।

पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा आफ्नो समूहका नेता तथा कार्यकर्ताहरुलाई उपेक्षा गरिएको भन्दै उक्त सूची सच्याउनसमेत शेखर कोइराला समूहले माग गर्दै आएको छ । त्यस्तै प्रत्यक्षतर्फ समेत पार्टीभित्र आफ्नो समूहले ४० प्रतिशत टिकट पाउनुपर्नेमा जोड दिँदै आएको छ ।

पार्टी नेतृत्वले आफूहरुको मागको सुनुवाइ नगरे मंसिर ४ गते हुने चुनाव बहिस्कार गर्नुपर्नेसम्म शेखर कोइराला समूह अघि बढिसकेको छ ।

यसअघि समूूहले शनिबार खबरदारी सभा गरेका थिए । सोही सभामा सहभागी नेताहरु सोमबारको बैठकमा उपस्थित भएका थिए । बैठकमा पार्टी केन्द्रीय सदस्यहरु मधु आचार्य, प्रकाश शाह, अजयबाबु सिवाकोटीलगायतसमेत उपस्थित थिए ।

शेखर पक्षले असोज १६ अगाडि नै कार्यदल बनाएर समानुपातिकको सूची सच्याउनुपर्ने सर्त सभापति देउवासमक्ष राखेको छ ।

१० आश्विन २०७९, सोमबार १३:२० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading