एजेन्सी । संयुक्त अरब इमिरेट्स ९युएई० ले आफ्नो देशको विकासमा योगदान दिन सक्ने होनाहार विदेशीलाई नागरिकता दिने भएको छ।
युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तुमले युएईलाई अझ राम्रो बनाउन सक्ने लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारजस्ता क्षमतावान् व्यक्तिलाई नागरिकता दिन लागिएको बताए।
यस्ता व्यक्ति र उनीहरूका परिवारले पनि दोहोरो नागरिकता राख्न पाउने उनले बताए।
कम आय हुने काम गर्ने मानिसहरूले भने यी मापदण्ड पूरा गरेर युएईको नागरिकता पाउन मुस्किल छ।
मक्तुमले नागरिकता दिने योजनाको मुख्य उद्देश्य युएईको विकासमा योगदान गर्न सक्ने मानिसलाई आकर्षित गर्नु रहेको बताए।
नागरिकताका लागि युएईका शाही परिवारका सदस्य र अन्य अधिकारीले मनोनयन गर्नेछन्। यस्तो मनोनयनलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि विदेशीले नागरिकता पाउनेछन्।
कोरोनाभाइरसको महामारी र तेलको मूल्यमा भारी गिरावट भएर विदेशीहरूले युएई छोडिरहेका बेला यस्तो निर्णय गरिएको हो।









































