काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्ष निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी नभई फर्किएका छन् ।
निर्वाचन तयारी र दल दर्ता विषयमा निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्ड-नेपाल समूहका नेताहरूले अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल राजधानीबाहिर भएकाले छलफलमा सहभागी नहुने बताएका हुन्।
प्रचण्ड-नेपाल पक्ष माघ १८ गतेसम्म उपत्यकाबाहिरका राजनीतिक कार्यक्रममा छन्।
केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले प्रचण्ड-नेपाल बाहिर रहेका कारण प्रतिनिधि मनोनयन पनि गर्न नसकिएको चिठी निर्वाचन आयोगमा पठाएका छन्।
अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि पठाउन आयोगले बिहीबार प्रचण्ड-नेपाल र प्रधानमन्त्री केपी ओली पक्षलाई भनेको थियो।
‘माघ १८ गतेपछि उपयुक्त मिति र समयमा छलफलको आयोजना गर्न हुन अध्यक्षज्यूको अनुरोध छ, ढकालले आयोगमा पठाएको पत्रमा छ।
सोही पत्र आयोगलाई बुझाएर नेताहरू राजेन्द्र पाण्डे र लीलामणि पोखरेलसहित नेताहरू फर्किएका हुन्।
प्रधानमन्त्री ओली पक्ष आयोगमा छलफल गरिरहेको बताएका छन् । प्रचण्ड-नेपाल विराटनगरमा आयोजित विरोधसभामा छन्।









































