जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोजेको भन्दै प्रहरीले जनकपुरधाममा ११ जनालाई पक्राउ गरेको छ ।
जनकपुर विमानस्थलबाट कार्यक्रम स्थलतर्फ जाँदै गरेका ओलीलाई आज कालो झन्डा देखाउन खोजेको आरोप उनीहरूमाथि छ ।
कालो झन्डा बोकेर बसेकाहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ११ जनालाई नियन्त्रणमा लिइए पनि उनीहरूको नाम भने प्रहरीले खुलाएको छैन।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले कालो झन्डा लिएर बाटोमा बसेका युवाहरूलाई पक्राउ गरिएको बताए ।
प्रहरी स्रोतका अनुसार ती युवाहरू नागरिकताविहीन छन्। संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ ।
तर एमालेको विरोधका बीच नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भइरहेको आरोप लगाउँदै युवाहरूले कालो झन्डा देखाउन खोजेका थिए ।
ओलीले आज जनकपुरको तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभामा बोल्ने कार्यक्रम छ ।








































