रुपन्देही । पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा अध्यक्ष सम्पर्कबिहीन भएको अवस्थामा उपाध्यक्षलाई कार्यबाहक दिनुपर्नेमा वडाध्यक्षलाई कार्यबाहक दिने कार्यपालिकाको निर्णयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोकेको छ ।
अध्यक्ष बैजुप्रसाद गुप्तालाई लागूऔषध तथा ठगी मुद्दमा अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनकै चाहनामा उपाध्यक्षलाई कार्यबाहक नदिएर कार्यपालिकाको निर्णयबाट वडाध्यक्षलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरिएको थियो ।
आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले स्थानीय सरकार सञ्चालन ऐन विपरीत वडाअध्यक्षलाई कार्यवाहक दिएको भन्दै उपाध्यक्षलाई जिम्मेवारी दिन पाल्हीनन्दन गाउँपालिकालाई निर्देशन दिएको हो ।
उपाध्यक्ष फातुमा खातुन अन्सारी उपस्थिति हुँदाहुँदै कार्यपालिकाको बैठकले एक हप्ताअघि वडा नं १ का अध्यक्ष चुल्हाईप्रसाद यादवलाई कार्यवाहकको जिम्मेवारी दिएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायको भदौ २६ गतेको सचिवस्तरीय निर्णयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ को खण्ड क र ख आकर्षित हुने हुँदा अध्यक्षले कार्यभार नदिई अनुपस्थित भएको अवस्थामा सोही उपदफाको खण्ड ९ख० को प्रकरण २ बमोजिम अध्यक्षको कार्यभार उपाध्यक्ष वा उपप्रमुखले सम्हाल्ने व्यवस्था भएकाले सोही बमोजिम गर्नु भनेर निर्देशन दिएको हो ।
उपाध्यक्षलाई छाडेर वडाअध्यक्षलाई जिम्मेवारी दिएपछि पालिकामा विवाद भएको छ । त्यसपश्चात कार्यवाहकको विषयमा दुविधा उत्पन्न भएको भन्दै गाउँपालिकाले मन्त्रालयमा आवश्यक निर्देशनको माग गरेर पत्र पठाएपछि उपाध्यक्षलाई कार्यवाहक बनाउन निर्देशन दिइएको हो ।
पालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले आफ्नै भारतीन नागरिक रहेका व्यवसायका साझेदारलाई मुनाफा नदिन लागूऔषध मुद्दामा फसाएको मुद्दामा तानिएपछि सम्पर्कबिहीन छन् । उनले पालिकामा भने स्वास्थ्यको कारण केही समय आउन नसक्ने लिखित पत्र पठाएको पालिकाका प्रवक्ता कृष्णचन्द्र यादवले जनाएका छन् ।
पत्रपछि कार्यपालिकाको बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र नेपालको संविधान २०७२ को धारा २१४ को उपधारा ३ मा संविधान र अन्य कानुनको अधिनमा रही गाउँपालिका वा नगरपालिकाको शासन व्यवस्था निर्देशन र सञ्चालन गर्ने अभिभारा गाउँ कार्यपालिका वा नगर कार्यपालिको हुनेछ भन्ने उल्लेख भएको व्यहोरालाई आधार मानेर वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिइएको थियो ।
अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित हुन् भने उपाध्यक्ष खातुन नेपाली कांग्रेसबाट निर्वाचित हुन् । कार्यपालिकामा माओवादी केन्द्रको बहुमत छ ।उपाध्यक्ष खातुनले आफ्नो बिरोध गर्दै आएकाले अध्यक्ष गुप्ताले उनलाई कार्यवाहक दिन नमानेका हुन् ।
यो विषयमा अध्यक्ष गुप्तालाई कारबाहीको माग गर्दै जिल्लामा नेपाली कांग्रेस, जसपालगायतका दलहरुले औपचारिक रुपमै माग गर्दै आएका छन् । उनीहरुले एसपी ऋषिराम कंडेलले समेत अध्यक्ष गुप्तालाई जोगाउन प्रयास गरेको आरोप लगाउँदै छानबिनकोमाग गरेका छन् ।







































