वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नेकपाका दुवै समूहमा शक्ति देखाउने होड, वामदेव पनि मैदानमा

khanepani

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह संसद विघटनविरुद्ध आन्दोलनमा होमिएको एक महिना पुगेको छ । कामचलाउ प्रधानमन्त्री केपी ओलीले पुस ५ प्रतिनिधिसभा विघटन गरेपछि यो समूहले पुस १४ मा उपत्यकास्तरीय जनप्रदर्शन गरिसकेको छ । यो समूह अहिले तेस्रो चरणको आन्दोलनमा छ ।

मंगलबार सुरू भएको तेस्रो चरणको आन्दोलन माघ २८ मा टुंग्याउने तालिका सार्वजनिक भएको छ । त्यस दिन राजधानीमा निर्णायक प्रदर्शन हुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका छन् ।

त्यसअघि ओली समूहले माघ २३ मा काठमाडौंमा बागमती प्रदेशस्तरीय जनप्रदर्शनको तयारी गरेको छ । सोमवार पत्रकार सम्मेलन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले संविधानको रक्षा र समृद्धिबारे जनतालाई बुझाउन विशाल जनसभा हुने बताए ।

पोखरेलको भनाइ थियो, ‘यो जनसभा कसैको काउण्टर दिन होइन, त्यो गलत प्रचार हो ।’ तथापि यो प्रदर्शन भने काउण्टरकै निम्ति तय भएको छ । माघ ९ मा प्रचण्ड–माधव समूहले विशाल जनप्रदर्शनको तयारी गरेपछि माघ ६ मा बागमती प्रदेश कमिटीका नेताहरु बैठक बसी प्रदेश स्तरीय मास उतार्ने निर्णय गरेको थियो ।

दुवै समूहको गतिविधि र अभिव्यक्तिबाटै जनमास उतार्ने होड चलेको प्रमाणित हुन्छ । कुनै समूहले जनमास उतार्नासाथ त्यही ठाउँमा सभाको आयोजना गरिनु र आफ्नो पक्षमा जनता भएको दाबी गरिनु त्यसैका प्रमाण हुन् ।

राजधानी उपत्यकामा कार्की ब्याङ्केट र प्रज्ञा भवन एकअर्का विरुद्धको सभा गर्ने साझा थलो बनेका छन् । प्रज्ञा भवनमा प्रचण्ड र माधव समूहको विद्यार्थी, काठमाडौं जिल्ला कमिटी र प्रेस संगठन नेपालको सभा भएको छ भने ओली समूहको पनि काठमाडौं कमिटी र युवाको सभा भएको छ । त्यसबाहेक बालुवाटारमा ओलीको भेला लगातार चलिरहेको छ भने पेरिसडाडाँमा दिनहुँजसो अर्को पक्षको कार्यक्रम भइरहेको छ ।

उपत्यका बाहिर पनि त्यस्तै होड छ । ओली पुगेर सुदूरपश्चिम प्रदेशस्तरीय सभालाई सम्बोधन गरेको धनगढीमा माधव नेपाल र प्रचण्ड माघ १७ मा जाँदैछन् । त्यहाँ प्रदेशस्तरीय सभाको तयारी छ । त्यसअघि माघ १५ मा बुटवल र माघ १६ मा विराटनगरमा बृहत प्रदर्शनको तयारी प्रचण्ड–माधव समूहले गरेको छ ।

सभा गर्न दुबैतर्फका शीर्षनेताहरुको दौडधुप तीव्र छ । ओली बढी राजधानी केन्द्रीत सभामा जाने गरेका छन् । सातै प्रदेशको सभा ओली समूहले राजधानीमै राखेर ओलीलाई प्रमुख वक्ता बनाउने गरेको छ । तर, राजधानी बाहिर भने दाङ र धनगढीमा ओली पुगेका छन् ।

माधव नेपाल र प्रचण्ड भने राजधानीसहित देश दौडाहामा छन् । मंगलबार माधव नेपालले एकैदिन पाँचथर र ताप्लेजुङका सभालाई सम्बोधन गरे । त्यस दिन प्रचण्ड चितवनमा थिए ।

यो समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसाल भने ओली समूहसँग आफ्नो जनप्रदर्शनलाई तुलना गर्न नमिल्ने बताउँछिन् । ‘हाम्रो आसय प्रतिगमनबारे जनतालाई बुझाउने अनि प्रतिमनलाई पराजित पार्न जनतालाई सचेत पार्ने हो’ भुसाल भन्छिन्, ‘उनीहरुले चाहिँ प्रतिगमनको पक्षमै जनता छन् भनेर पञ्च र्‍याली गर्ने र राज्यको स्रोत साधन दुरुपयोग गर्ने हो ।’

राजधानी उपत्यकामा शक्ति प्रदर्शन गर्नु दुवै समूहको प्राथमिकतामा छ । प्रचण्ड–माधव समूहले माघ ९ मा सभा आयोजना गरेकै ठाउँमा ओली समूहको सभा माघ २३ मा हुँदैछ । ओलीले माघ ९ मा ‘रत्नपार्कमा अलिअलि मान्छे भेला भएको’ र माघ २३ मा सभा कस्तो हुन्छ भन्ने देखाउने अभिव्यक्ति दिएका छन् । त्यसैअनुसार, मास उतार्न ओली समूह जुटेको छ ।

जनसभाको परिचालन सम्बन्धी सचिवालयका अध्यक्ष आनन्द पोखरेल त्यस दिन दुई लाख मानिस उतार्ने दाबी गर्छन् । ‘बागमतीका १३ र उपत्यकाका चार गरी १७ जिल्ला कमिटीबाट मानिस आउँछन् । दुई लाख मानिस आफैं आउँछन्, हामीले ल्याउने होइन । बरु, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ’, उनी भन्छन् ।

ओली समूहको त्यसदिन हुने सभालाई प्रचण्डले भने पञ्च र्‍यालीको संज्ञा दिएका छन् । ‘केपीले जत्रो (सभा) गरे पनि पञ्च र्‍यालीभन्दा फरक हुने छैन’, सोमवार पेरिसडाडाँमा आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए ।

ओली समूहले मान्छे देखाउन कर्मचारी र प्रहरीलाई समेत बोलाएको प्रचण्ड–माधव समूहका नेताहरुको आरोप छ ।

ranechhap