नेपाली कांग्रेसनिकट भातृ संगठन नेविसंघको सभापतिमा ९ चैत २०७८ मा दुजाङ शेर्पा मनोनित भएका थिए । ३ फागुनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले १० वटा भ्रातृ संस्था भंग गरेर त्यसै महिनाभित्र संगठनलाई पूर्णता दिन सभापति शेरबहादुर देउवालाई जिम्मा दिएको थियो ।
साउनको पहिलो साता बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सोही महिनाको मसान्तभित्र भंग गरिएका १० वटै भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको थियो ।
तर हालसम्म पनि नेविसंघसहित अन्य संस्थाको समितिले पूर्णता पाउन सकेको छैन । त्यसको विरोधमा पार्टीको केन्द्रीय कार्यालयमा खुलापत्र लेखन कार्यक्रम गरिएको नेविसंघकी पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले बताइन् ।
‘नेविसंघमा सभापति मनोनित भएको ६ महिना भइसक्यो, यो अवधिमा अवधिवेशन गर्नुपर्ने हो । तर, सभापति मात्रै छन्’ ढकालले भनिन्, ‘यस्तो हिसाबले लाखौं विद्यार्थी भएको संगठन चल्न सक्दैन भनेर पार्टीलाई दबाब दिएका हौं ।’
उनीहरुले ‘जग जोगाऔं पार्टी बचाउ, वी निड फूल एनएसयू’ लगायत नारासहित प्रदर्शन गरेका छन् । उनीहरुले खुलापत्र कांग्रेसका उपसभापति धनराज गुरुङ र खुलापत्र लेखेको कलम पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) लाई हस्तान्तरण गरेका छन् ।








































