काठमाडौं । सन् २०१० देखि अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको पाकिस्तानी महिला फुटबल टीमको इतिहास त्यति धेरै पुरानो छैन। फिफाको प्रतिबन्धका कारण पाकिस्तानी महिला टोलीले सन् २०१४ पछि खेलेको छैन । नेपालमा हुन लागेको साफ महिला च्याम्पियनसिपमा पहिलोपटक मैदान उत्रँदैछ पाकिस्तानी महिला फुटबल टीम ।
साफ च्याम्पियनसिपलाई उल्लेखनीय बनाउने तयारीमा देखिन्छ पाकिस्तान । मंगलबारदेखि दशरथ रंगशालामा सुरु हुने च्याम्पियनसिपका लागि पाकिस्तानले दुई जना ओभरसिज खेलाडीलाई टोलीमा समेटेको छ।
२३ सदस्यीय टीममा लन्डनको डनकास्टर रोभर्स वेल्स फुटबल क्लबकी स्टार मारिया नादिया खानलाई पनि समावेश गरिएको छ । उनी पहिलो ब्रिटिस-पाकिस्तानी महिला हुन्, जसले दोहोरो नागरिकता लिएर राष्ट्रिय फुटबल टीममा प्रवेश पाएकी छन् । नादियाले यसअघि लिड्स युनाइटेडबाट खेलेकी थिइन् । उनी सन् २०१८ देखि रोभर वेल्समा अनुबन्ध भएकी हुन् ।
यस्तै मारिया खान पाकिस्तानी टीमले ल्याएकी दोस्रो ओभरसिज खेलाडी हुन् । मारियालाई पाकिस्तानले कप्तानको जिम्मेवारीसमेत दिएको छ । उनी अमेरिकामा जन्मिए पनि हाल यूएईमा बसोबास गर्दै आफ्नो फुटबल यात्रा अघि बढाइरहेकी छन् ।
उनी यूएईको घरेलु क्लबमा अनुबन्ध छिन् । मारियाले पाकिस्तानको नेतृत्व गर्दै अन्तर्राष्टिय खेलमा डेब्यू पनि गर्नेछिन् । ओभरसिज खेलाडीलाई टीममा राख्नुले पाकिस्तानले पक्कै पनि साफका लागि उत्कृष्ट टीम बनाएको अनुमान गरिएको छ ।
पुरुष फुटबलमा ओभरसिज खेलाडीहरुले खेलेका थुप्रै उदाहरण छन् । तर, महिला फुटबलमा भने भर्खरै सुरु हुँदैछ । यसअघि फिलिपिन्सले अमेरिका बस्ने १२, युके बस्ने ३ र जापान बस्ने २ जना खेलाडी लिएर इतिहासमा पहिलो पटक विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।
लामो समय फुटबल गतिविधि ठप्प भएकाले पाकिस्तानी टीमलाई कठिन अवस्थाको सामना गर्नुपरेको थियो । पाकिस्तान फुटबल संघले विदेशमा बस्ने खेलाडी बोलाएर समस्याको समाधान खोज्यो । आठ वर्ष थलिएको महिला फुटबललाई नयाँ जीवन दिन संघले गरेको यो निर्णयको प्रभाव निकट भविष्यमै देखिने नै छ।
पाकिस्तानले साफमा राम्रो नतिजा ल्याउनसके ओभरसिज खेलाडी भित्र्याउन अरु देशहरुलाई पनि बाध्य पार्नेछ ।
पाकिस्तान महिला फुटबलको इतिहास
सन् २०१० जनवरी ३१ मा बंगलादेशमा आयोजित दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारतसँग प्रतिस्पर्धा गर्दै पाकिस्तान महिला टीमले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । उक्त खेलमा पाकिस्तान भारतसँग ६-० को नतिजामा पराजित भएको थियो ।
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता पाकिस्तानका लागि खासै सम्झन लायक रहेन । पकिस्तानले त्यतिवेला कुनै पनि खेलमा जीत निकाल्न सकेन ।
सन् २०१० मा बंगलादेशमै आयोजित पहिलो महिला साफ च्याम्पियनसिप पाकिस्तानको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । पहिलो साफ च्याम्पियनसिपमा पाकिस्तानले मिश्रित नतिजा निकालेको थियो । माल्दिभ्सलाई २-१ गोलको नतिजामा र अफगानिस्तानलाई ३-० को नतिजामा हराएको थियो । त्यसपछि नेपालसँग भने १२-० को नतिजामा पराजित भयो ।
त्यसपछि कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलको पाकिस्तानी टीमले सन् २०१२ मा श्रीलंकामा भएको दोस्रो साफ च्याम्पियनसिप खेल्यो । दोस्रो साफ पनि पाकिस्तानका लागि सम्झन लायक बन्न सकेन । नेपालसँग ८-० र अफगानिस्तानसँग ४-० ले पराजित भएको पाकिस्तानले मालदिभ्ससँग ३-० गोलको हार ब्यहोरेको थियो ।
सन् २०१४ मा पाकिस्तान नै साफ महिला च्याम्पियनसिपको आयोजक बन्यो। घरेलु मैदानमा पाकिस्तानले खासै चर्चा बटुल्न सकेन। पहिलो र दोस्रो खेल लगातार हारेको पाकिस्तानले तेस्रो खेलमा भूटानलाई ४-१ गोलले पाखा लगाएको थियो ।








































