काठमाडौं । सरकारले माघ १४ गते बुधबारदेखि कोरोनाविरूद्ध खोप लगाउने तयारी गरेको छ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएका खोप प्रदेशहरूमा पठाइसकिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीका अनुसार बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुरूवात गर्नेछन्।
बुधबार देशभरका ६२ अस्पताल तथा १२० वटा खोप केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाउने अभियान सुरूवात हुने मन्त्री त्रिपाठीको भनाइ छ। तर मन्त्रालयले कुन(कुन अस्पतालबाट खोप लगाउने भन्ने विस्तृत खुलाइसकेको छैन।
सरकारले सुरूमा स्वास्थ्यकर्मीलाई खोप लगाइने बताएको छ। मन्त्री त्रिपाठीका अनुसार माघ १८ भित्र सबै जिल्लामा कोरोनाविरूद्ध खोप अभियानको थालनी गरिनेछ।
सरकारले पहिलो चरणमा चार लाख ३० हजार जनालाई कोरोनाविरूद्ध खोप लगाउने तयारी गरेको छ। भारत सरकारले दश लाख डोज खोप अनुदानमा दिएको थियो।
यससँगै स्थानीय तहहरूले आफ्नो क्षेत्रमा काम गरिरहेका स्वास्थ्यकर्मी लगायतलाई खोप लगाउन सिफारिस केन्द्रमा पठाउन थालेका छन्।









































