वि.सं.२०८३ जेठ ३१ आइतवार

काठमाडौंका ९ ठाउँबाट प्रचण्ड-नेपाल पक्षको जुलुस, एक लाख कार्यकर्ता उतार्ने

khanepani

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ तर कानुनी रूपमा फुटिसकेको भने छैन।

नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल गरी दुइटा समूहले भिन्नभिन्न कार्यक्रम गरिरहेका छन्।

केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता योगेश भट्टराईका अनुसार विरोध सभाको तयारी पूरा भएको छ।

स्थायी कमिटी सदस्य सहितका नेताहरूको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज,शान्तिवाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने उनको भनाइ छ।

त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुने उनले बताए।

मुख्य जुलुस पार्टी अध्यक्षद्वय प्रचण्ड र नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतली सडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने उनले जानकारी दिए।

विरोध प्रदर्शनमा सहभागी हुन नेकपाका प्रचण्ड-नेपाल पक्षका कार्यकर्ता काठमाडौं आएका छन्। काठमाडौं उपत्यका नजिक रहेका जिल्लाका कार्यकर्ता प्रदर्शनका लागि आएका छन्।

प्रचण्ड-नेपाल पक्षले आजको विरोधमा एक लाख कार्यकर्ता उतार्ने दाबी गरेका छन्। केही दिनअगाडि प्रचण्डले कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिएका थिए।

यसैबीच प्रचण्ड-नेपाल समूहले मर्यादित नारा मात्रै लगाउन निर्देशिका नै जारी गरेको छ। प्रतिनिधि सभा विघटनको निर्णय नसच्चिएसम्म आन्दोलन गरिराख्ने उनीहरूले बताएका छन्।

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ।

ranechhap