काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिमा सदस्यहरूको हेरफेरको कार्यसूची छ ।
त्यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने छन् ।
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले मन्त्रिपरिषद्बाट जारी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेस गर्ने छन् ।
त्यस्तै केही सांसदले समानुपातिक समावेशी सहभागिताको विषय सुनिश्चितताका लागि संघीय संसद र प्रदेशसभाको निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवैमा महिला र पुरुषको समान संख्यामा प्रतिनिधित्व गराउन आवश्यक वयवस्थाका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस हुने कार्यसूचीमा उल्लेख छ ।








































