गोरखा । नेकपा गोरखाका नेता यादव बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली समूहले बनाएको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।
प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधि सभा भंग गरेको बताउँदै बस्नेतले केन्द्रीय सदस्य स्वीकार गर्न नसकिने बताएका छन्।
आइतबार गोरखामा पत्रकार सम्मेलन गरी बस्नेतले आफू केन्द्रीय सदस्यमा नबस्ने बताएका छन्।
‘म नेकपाको केन्द्रीय सदस्य होइन। जिल्ला सदस्य र कार्यालय सदस्य पदमा मात्रै छु,’ उनले भने।
उनी नारेश्वरका हुन्। गोरखा नगरपालिकाभित्र पर्ने नारेश्वर गाउँबाटै बस्नेतसहित चार जना ओली समूहमा केन्द्रीय सदस्य थिए।
बस्नेत नेकपा उपाध्यक्ष वामदेव गौतम निकट छन्।
उनले गौतमले थालनी गरेको पार्टी एकता अभियानमा आफू पनि होमिने बताएका छन्।
गौतमले नेकपा मिलाउन आफूले संगठन नै बनाएर काम गर्ने बताइरहेका छन्।
नेकपा ओली समूहको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गत पुस ७ गते केन्द्रीय समिति विस्तार गरी एक हजार एक सय ९९ सदस्यीय बनाएका थिए।
प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि नेकपामा ओली र प्रचण्ड-नेपाल समूह क्रियाशील छ। उनीहरूले भिन्नभिन्न कार्यक्रम गरिरहेका छन्। तर उपाध्यक्ष गौतम दुवै समूहसँग अहिले नजिक देखिएका छैनन्।







































