वि.सं.२०८३ असार ५ शुक्रवार

ओलीले संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी भएका कारण अनुशासनको कारवाही गरेर पार्टीबाट बर्खास्त गरिसकेको होः माधव नेपाल

khanepani

काठमाडौं । नेकपाका प्रचण्ड(नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई माया लागे नेकपा ओली गुट भन्न आग्रह गरेका छन्।

पार्टी नेता झलनाथ खनालको प्रस्तावमा दुई तिहाइ केन्द्रीय समिति सदस्यबाट सर्वसम्मत आफू नेकपाको अध्यक्ष भएको नेपालको भनाइ छ।

अध्यक्ष नेपालले जनता समाजवादी पार्टीले आज बानेश्वरमा गरेको अन्तर्क्रियामा धारणा राख्दै निरंकुश शैलीले अगाडि बढेपछि प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गरेको बताए।

‘ओलीले संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गर्नुभयो। उहाँलाई पार्टीले अनुशासनको कारवाही गरेर पार्टीबाट बर्खास्त गरिसकेको छ,’ उनले भने।

प्रधानमन्त्री ओलीलाई माया लागे नेकपा ओली गुट भन्न पनि उनले आग्रह गरेका थिए।

जसपा अध्यक्ष उपेन्द्र यादवले बोल्ने क्रममा नेकपा प्रचण्ड नेपाल पक्षका नेता माधव नेपाल भनेपछि उनले आफूहरू नै नेकपा भएको र ओली नेकपा ओली गुटको भएको बताएका छन्।

‘उहाँलाई माया लागे नेकपा ओली गुट भनिदिए हुन्छ,’ उनले भने, ‘उहाँलाई कम्युनिष्ट पार्टी पनि मन पर्दैन। कतिदिन नेकपा रहने हो। उहाँ गणतन्त्र, समावेशी, संघीयताप्रेमी होइन। तर विडम्बना उहाँ नै अध्यक्षमा आसिन हुनुभयो हामी धुँरूधुँरू रोएर बस्यौं।’

उनले ओलीको अधिनायकवादी प्रवृत्तिप्रति संघर्ष जारी रहेको पनि बताएका छन्।

प्रधानमन्त्री ओलीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्नेसमेत नसोची बोल्ने गर्दा आफूहरूको शीर झुक्ने गरेको उनले बताए। उनले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री अहिले घाँडो भएको पनि बताएका थिए।

उनले प्रधानमन्त्रीलाई संविधानले प्रतिनिधि सभा विघटन गर्न सक्ने अधिकार नदिएको पनि बताएका छन्।

ranechhap