काठमाडौं । पृथ्वीनारायण शाहको जन्म जयन्ती भव्य रूपमा मनाउन बलिउड अभिनेत्री मनीषा कोइराला र नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल एकै ठाउँमा उभिने भएका छन्।
पछिल्लो समय क्यान्सरविरूद्धको अभियानमा सक्रिय कोइराला र ‘हाम्रो नेपाल र सुशासन अभियानु चलाइरहेका खेरलले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर पुस २७ गते मनाइने पृथ्वी जयन्तीको कार्यक्रम सार्वजनिक गर्दै छन्।
नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान महत्वपूर्ण रहेकाले उनको सम्मानमा विभिन्न कार्यक्रमहरू गर्न लागिएको खरेलले सेतोपाटीलाई जानकारी दिए।
अभिनेत्री कोइरालासँग भने आफ्नो पर्यटन व्यवसायी भरत बस्नेतमार्फत् कुराकानी भएको उनले बताए।
‘उहाँ (भरत बस्नेत) धेरै पहिलेदेखि पृथ्वी जयन्ती मनाउन लागिरहनु भएको छ। यसपालि उहाँले नै कुरा गरेर मनीषाजी पनि आउनुभएको हो,’ खरेलले भने,‘अहिले हामी पृथ्वी जयन्तीका लागिमात्रै एक ठाउँमा आएका हौं। हाम्रो अभियानमा उहाँ जोडिनेबारे कुनै कुरा भएको छैन।’
विचार मिल्यो भने आगामी दिनमा अभियानमा सँगै काम गर्न सकिने खरेलले बताए।
कोइराला नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाकी नातिनी हुन्। उनका बुवा प्रकाश कोइरालामा भने राजा ज्ञानेन्द्रले शासन लिएका बेला मन्त्री बनेका थिए। उनी अहिले राजतन्त्रका पक्षमा छन्। कोइरालाले आफ्नो नेतृत्वमा नेपाली कांग्रेस ९बिपी० पार्टी खोलेका छन्।
गणतन्त्र आउनुअघि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरिन्थ्यो भने सरकारले सार्वजनिक विदा दिने गरेको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन र सार्वजनिक विदा दिन माग गरिरहेको छ।









































