15, May, 2024

एकदिवशीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका यी ९ सतकीय साझेदारी

Bagmati Voice
संवाददाता
१ असार २०७९, बुधबार ११:५७ | १ साल अगाडी

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले बुधबार बिहान शीर्षस्थानमा रहेको ओमानलाई ७ विकेटले पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ थालेको ओमानलाई एक सय ६३ रनमा समेट्दै नेपालले जितको आधार बलियो बनाएको थियो । नेपालले ३३.१ ओभरमा ३ विकेट मात्र गुमाएर लक्ष्य भेट्टायो ।

नेपालको जितमा दुवै ओपनर ब्याट्सम्यानले अर्धसतक बनाएका थिए । कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि एक सय १४ रनको साझेदारी गरेका थिए । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो विकेटका लागि गरेको यो अहिलेसम्मकै धेरै रनको साझेदारी हो भने कुनैपनि विकेटका लागि दोस्रो ठूलो साझेदारी हो ।

यसअघि कुशल भुर्तेल र आसिफ शेखले सन् २०२१ मा ओमानमा भएको एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा अमेरिकाविरुद्ध पहिलो विकेटका लागि ६६ रनको साझेदारी गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

यसअघि देव खनाल र दीपेन्द्रसिंह ऐरीले गत मार्चमा पपुआ न्युगिनी (पीएनजी) विरुद्ध कीर्तिपुर मैदानमा तेस्रो विकेटका लागि एक सय २९ रनको साझेदारी गरेका थिए ।

नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म चारपटक सतकीय साझेदारी गरेको छ। रोहित पौडेल र आरिफ शेखले गत मार्चमा पीएनजीविरुद्ध पाचौँ विकेटका लागि एक सय ४ रनको साझेदारी गरेका थिए भने उनीहरूले नै शारजहामा गत मार्चमा पीएनजीविरुद्ध पाचौँ विकेटका लागि एक सय रनको साझेदारी गरेका थिए। नेपालले सन् २०१८ मा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने नेपालले पाँचपटक सतकीय साझेदारी गरेको छ। कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले गत फेब्रुअरीमा ओमानमा फिलिपिन्सविरुद्ध तेस्रो विकेटका लागि एक सय ७१ रनको साझेदारी गरेका थिए । सन् २०१९ को सेप्टेम्बरमा पारस खड्का र आरिफ शेखबीच सिंगापुरविरुद्ध दोस्रो विकेटका लागि एक सय ४५ रनको साझेदारी भएको थियो ।

कुशल र आसिफले सन् २०२१ को अप्रिलमा नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेटका लागि एक सय १६ तथा पारस र ज्ञानेन्द्र मल्लले सन् २०१९ को डिसेम्बरमा भुटानविरुद्ध पहिलो विकेटका लागि एक सय ८ रनको साझेदारी गरेका थिए। कुशल र आसिफबीच सन् २०२१ को अप्रिलमा मलेसियाविरुद्ध पनि पहिलो विकेटका लागि एक सय २ रनको साझेदारी भएको थियो । नेपालले सन् २०१४ को विश्वकपपछि टी-२० अन्तर्राष्ट्रियको मान्यता पाएको थियो ।

१ असार २०७९, बुधबार ११:५७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading