वि.सं.२०८३ असार २५ बिहीवार

व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिइरहेका छौं- शिक्षामन्त्री पौडेल

khanepani

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालले औपचारिक र अनौपचारिकसँगै व्यवसायिक र प्राविधिक शिक्षामा पनि जोड दिएको बताएका छन् ।

थाइल्याण्डमा जारी एसियाका शिक्षामन्त्रीहरूको सम्मेलनमा भाग लिँदै मन्त्री पौडेलले आजीवन सिकाइलाई औपचारिक र अनौपचारिक शिक्षाासँग जोड्नका लागि नेपाल प्रयासरत रहेको बताए ।

देशको उच्च शिक्षालाई प्रविधिमैत्री र व्यवसायउन्मुख बनाउन सरकार लागिरहेको स्मरण गराउँदै उनले प्रविधिमैत्री पाठ्यक्रम, शिक्षासँगको तालमेल, दक्ष जनशक्ति उत्पादन र समृद्धिलाई प्राथमिकतामा राखिएको जानकारी दिए । यसका लागि आन्तरिकका साथै बाह्य सहयोग पनि आवश्यक रहेको उनले बताए ।

मन्त्री पौडेलले नेपालको शिक्षा क्षेत्रमा पनि कोभिड १९ ले ठूलो प्रभाव पारेको र त्यसको तयारीमा नेपाल चुकेको स्वीकार गर्दै अहिले भने अनलाइन शिक्षणको अभ्यास थालेको बताए । भविष्यमा आइपर्न सक्ने त्यस्ता अवस्थालाई मध्यनजर गर्दै अबको शिक्षालाई प्रविधिमैत्री बनाउनेतर्फ सरकार लागिरहेको उनको भनाइ छ ।

यस्तै मन्त्री पौडेलले नेपालले आगामी जुलाईदेखि विद्यालय शिक्षा क्षेत्र योजना कार्यक्रम ल्याउन लागेको जानकारी दिए । सन् २०३० सम्म कायम रहने यो कार्यक्रममा अहिले भइरहेको शिक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै मूलधारका विवाद र विपद् घटाउन मद्दत गर्ने उनले बताए ।

मन्त्री पौडेलले कोभिड १९ ले नेपालको शिक्षा प्रणाली र नीति, शैक्षिक संरचना र विषयवस्तुलाई समायानुकूल परिवर्तनको महसुस गराउनुपर्ने अवस्थामा ल्याएको बताए । साथै समानताको नीति, अभिभावक र समुदायसँगको समन्वय, सुशासन, प्रविधिको उपयोग र शिक्षकको विकासको विषयमा पनि परिवर्तन आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्री पौडेलले नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा सूचीकृत गरेको भन्दै ८ कक्षासम्म निःशुल्क शिक्षा उपलब्ध गराइरहेको पनि जानकारी गराए । उनले केही समयभित्रै माध्यमिक शिक्षालाई निःशुल्क गर्न सरकारले तयारी गरेको बताए ।

ranechhap