काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठक बोलाएको पुष्टि भएको छ।
बैठक बोलाएको पुष्टिसँग नेकपामा खैलाबैला मच्चिएको छ । प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटार जाने भएका छन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार साँझ बैठक बस्ने पुष्टि गरेका हुन्। यद्यपि बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने जाने छैनन्।
यसअघि स्थगित बैठक आज बस्ने तय भएको उनले बताए। प्रधानमन्त्री ओलीले आजै किन परिषद बैठक बोलाएको भन्नेबारे उनले केही बताएनन्।
यता बैठकका लागि अहिलेसम्म कुनै जानकारी नआएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ।
मंगलबार बिहान बोलाएको संवैधानिक परिषदको बैठक सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो।
त्यसपछि मन्त्रिपरिषद बैठकमा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।
बेलुका बसेको परिषद बैठकमा भने कांग्रेस सभापति शेरबाहदुर देउवा उपस्थित भएनन्।
अध्यादेश जारी गरे बैठकमा उपस्थित नहुने उनले बताएका थिए। पछि संसदमा ८३ जना सांसदहरू संसद अधिवेशन माग गर्दै हस्ताक्षर बुझाउन शितल निवास पुगेका थिए।
तर, स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने सहमति भएसँगै शितल निवासमा पुगेका सांसदहरू फर्किएका थिए।









































