काठमाडौं । बाँकेको कोहलपुर, मोरङको रतुवामाई र कास्कीको पोखरा महानगरपालिकामा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका-१२ चप्परगौडीमा गएराति २ ओटा मोटरसाइकल ठोक्किँदा सोही नगरपालिका-२ का २९ वर्षीय खड्क गुरुङको उपचारको क्रममा कोहलपुरस्थित नेपालञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।
चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको भे. १२ प ३३९८ र विपरीत दिशाबाट आउँदै गरेको भे. ११ प ११८१ नम्बरको मोटरसाइकल पौने १२ बजे एकआपसमा ठोक्किएका थिए ।
मोटरसाइकल पछाडि सवार कोहलपुर-२ का २९ वर्षीय रामबहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेँसी नगरपालपालिका-८ का ३८ वर्षीय दल बहादुर सारुको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
यसैगरी मोरङको रतुवामाई नगरपालिका-१ मा मोटरसाइकल दुर्घटना हुँदा चालक मोरङ सुनवर्षी नगरपालिका-९ का २४ वर्षीय राजकुमार शर्माको मृत्यु भएको छ । मे. ४ प ४५५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पछाडि सवार भारतीय नागरीक २२ वर्षीय किसन कुमजार कामतको रंगेली अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका-२७ अर्घोचोकमा हिजो बेलुकी बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको घिरिङ गाँउपालिका-१ घर भइ हाल अर्घोचोक बस्ने अन्दाजी ६५ वर्षीय राजी भनिने इमराज लामिछाने छन् ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राति सवा ९ बजे मृत्यु भएको हो । पोखराबाट तनँहु तर्फ जादै गरेको ना. ७ ख ४९७६ नम्बरको बसले हिजो बेलुकी पौने ९ बजे पैदलयात्री लामिछानेलाई ठक्कर दिएको थियो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







































