वि.सं.२०८३ असार २१ आइतवार

रामचन्द्र पौडेललाई सिर्जना सिंहको प्रश्न, जेल पर्दा मेरो सहयोग बिर्सनुभयो?

khanepani

काठमाडौँ । काठमाडौँ नेपाली कांग्रेसले वैशाख ३० मा भएको स्थानीय चुनावबारे औपचारिक रूपमा समीक्षा गरिसकेको छैन।

काठमाडौंलगायत विभिन्न स्थानीय तहमा कांग्रेसका उम्मेदवार पराजित भएका थिए। सत्ता गठबन्धनसँग मिलेर कांग्रेसले संयुक्त उम्मेदवारी दिए पनि नतिजा आफ्नो हातमा पार्न सकेको थिएन।

कांग्रेसले चुनावी परिणामबारे छलफल नगरे पनि नेताहरूले भने पार्टीले अघि सारेका उम्मेदवार के कारणले हार्न पुगे भन्नेबारे आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं महानगरको मेयरमा उम्मेदवार रहेकी सिर्जना सिंह पराजित हुनुका कारण केलाउँदै राखेको धारणा भने बिबादमा परेको छ।

केही दिनअघि पौडेलले ‘वंशवाद’का आधारमा सिंहले टिकट पाउँदा जनताले कांग्रेसलाई हराइदिएको र नेताका टाउकामा लौरो बजारिदिएको अभिव्यक्ति दिएका थिए।

मेयरको उम्मेदवार चयन गर्दा कांग्रेसले जनतालाई हेपेर निर्णय गरेकोले मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह जित्न पुगेको उनको भनाइ थियो।

‘कांग्रेसले पनि जनतालाई हेपेर निर्णय गर्‍यो। किनभने जुन उम्मेदवारलाई अघि सार्‍यो त्यो उपयुक्त थिएन,’ पौडेलले भनेका थिए, ‘मैले त्यही बेला भनेको थिएँ- महिला दिने हो भने हरिप्रभा खड्गी छँदैछिन्। पुरुष दिने हो भने तीर्थ डंगोल छँदैछन्। तर उम्मेदवारी दिँदा नै वंशवादको आधारमा दिइयो, त्यो गलत भयो।’

पौडेलको यो अभिव्यक्तिबारे काठमाडौंमा मेयर उम्मेदवार भई पराजित भएकी कांग्रेस नेता सिर्जना सिंहले आफूले विगतमा गरेका सहयोग पौडेलले भुलेको बताएकी छन्।

‘मेरो राजनीतिक यात्रा प्रकाशमान सिंहले भन्दा तपाईं (रामचन्द्र पौडेल) ले पहिले थाहा पाउनु भएको हो,’ पौडेललाई जवाफ दिँदै आइतबार सिंहले ट्वीट गरेकी छन्, ‘मेरो विवाहअघि तपाईं गोरखामा जेल पर्नुहुँदाको समस्यामा मेरो साथ र सहयोग बिर्सनु भएको हो दाइ? यो कुरा तपाईंको मुखबाट आउँदा अलि सुहाएन।’

सिंहले २०३३ सालमै कांग्रेसको सदस्यता लिएर क्रियाशील भएकी थिइन्।

यस्तो भनेका थिए पौडेलले:

राजनीतिक दलहरूले जनतालाई हेपेर निर्णय गर्नु हुँदैन। उम्मेदवार छान्ने बेला नेपाली कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे।

नेकपा एमालेका नेताले पनि जनतालाई हेपेर निर्णय गरे। एमालेका नेताले जुन निर्णय गरे- त्यो पनि जनतालाई हेपेकै निर्णय थियो।

किनभने जुन उम्मेदवारलाई अघि सार्नुभयो उहाँ उपयुक्त थिएनन्। आउटेडेट भइसकेका थिए। अहिले कांग्रेसले जे निर्णय गरेको थियो त्यो पनि उपयुक्त थिएन। तीभन्दा उपयुक्त धेरै मान्छे थिए।

मैले उम्मेदवारी छान्नुभन्दा पहिले नै भनेको थिए- महिलालाई उम्मेदवार बनाउने हो भने हरिप्रभा खड्गी छँदैछिन्। उपमेयर भएर यसअघि राम्रो काम गरेको हो।

पुरुष उम्मेदवार बनाउने हो भने- तीर्थ डंगोल छँदैछन्। तर उम्मेदवारी दिँदा नै वंशवादको आधारमा दिइयो त्यो गलत भयो। जनताले त्यसको सजाय नेताका टाउकामा लौरो लगाइदिए।

उम्मेदवार छान्न म निर्णायक ठाउँमा होइन, पार्टी सभापति शेरबहादुर देउवा नै निर्णायक हुनुहुन्छ। उहाँले इसारा गरेपछि मुख्य सचिवले टिकट पठाइसक्छ।

ranechhap