चितवन । घाइते तथा बिरामी वन्यजन्तुको उपचारका लागि नेपालमै पहिलोपटक वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ।
चितवनको सौराहामा शुक्रबार वन्यजन्तु अस्पतालको उद्घाटन गरिएको हो। उक्त अस्पताल निर्माण र सञ्चालनका लागि विगत छ वर्षदेखि तयारी सुरु भएको थियो।
अहिलेसम्म वन्यजन्तुलाई चोटपटक लाग्दा, बिरामी हुँदा उपचार गर्न सहज थिएन। पशुचिकित्सकहरू रहे तापनि उनीहरुलाई उपचारको काम गर्न असहज हुने गरेको थियो। अस्पताल सञ्चालनसँगै अब बिरामी, अशक्त,
घाइते वन्यजन्तुले समयमै उपचार पाउने विश्वास चितवन राष्ट्रिय निकुञ्जले लिएको छ।
दुई तल्लाको पक्की अस्पताल निर्माण गर्न ३ करोड ९० लाख ८४ हजार रुपैयाँ खर्च भएको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ। अस्पतालका लागि आवश्यक पर्ने सबै उपकरणहरु उपलब्ध भएसँगै सञ्चालनमा ल्याइएको कोषले जनायो।









































