झापा । झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ले थप १४ बिगाहा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको भेटिएको छ।
मंसिर ९ गते पुरी पक्राउ परेपछि थप १४ बिगाहा सरकारी जग्गा उनले आफ्नो नाममा राखेको देखिएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जनाएको छ।
पुरीले १० बिगाहा आठ कठ्ठा सरकारी जग्गा कीर्तेपछि आफ्नो नाममा ल्याएर बिक्री वितरण गरेको पाइएपछि विभागले सम्पत्ति शुद्धिकरण प्रयोजनार्थ अनुसन्धान थालेको थियो। यही सिलसिलामा विभागमा बयान दिन आउँदा पुरी ९ गते पक्राउ परेका थिए।
‘उनी पक्राउ परेको भोलिपल्टै मालपोत कार्यालयबाट थप १४ बिगाहा सरकारी जग्गा पुरीको नाममा गैरकानुनी रूपमा गएको विवरण प्राप्त भएको छ,’ विभागका एक अधिकारीले भने।
पुरी दमक नगरपालिका-६ का हुन्। उनी नेकपा एक नम्बर प्रदेश कमिटीका सदस्य हुन्। उनी गत स्थानीय निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उम्मेदवार थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट पुरी चुनावमा पराजित भएका थिए।
पहिले र अहिले अनुसन्धानमा आएको समेत गरेर पुरीले २४ बिगाहा ८ कठ्ठा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको पाइएको ती अधिकारीले बताए।
‘अझै केही जग्गा बाँकी छ भन्ने कुरा छ, हामी अनुसन्धान गरिरहेका छौं,’ ती अधिकारीले भने।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्दा ३३ बिगाहा सरकारी जग्गा पुरीको नाममा पुगेको देखिएको थियो। अझै केही जग्गा पुरीको नाममा देखिन सक्ने आँकलन रहेकाले अनुसन्धान जारी रहेको ती अधिकारीले बताए।
दमक नगरपालिका-८ (साबिक १३ र १४) मा ‘बालुवाटार’ फाँट छ। चार दसकअघि रतुवा खोलाले पुरिरहने भएकाले ‘बालुवाटार’ नामाकरण गरिएको त्यही फाँटमा सुकुम्बासीका निम्ति कित्ताकाट भएको सरकारी जग्गा पुरीले आफ्नो नाममा ल्याएको भेटिएको हो।
पुरीले सरकारी जग्गा बिक्रीबाट आएको सम्पत्ति निजी घर निर्माण, जग्गा खरिद र क्रसर उद्योगमा लगानी गरेको देखिएको विभागले जनाएको छ।
‘लगानी भएको ठाउँको सम्पत्ति दायरामा आइसकेको छ,’ ती अधिकारीले भने।
पुरीले विभिन्न व्यक्तिहरूलाई जग्गा बिक्री गरेका छन्। तीमध्ये कतिपय व्यक्तिले किनेको जग्गा अर्को व्यक्तिलाई बिक्री गरिसकेका छन्। त्यसरी बिक्री गर्ने व्यक्ति पनि अनुसन्धानमा आउने विभागले जनाएको छ।
पुरीले अवैध आर्जन गरेको सम्पत्ति ६ करोडभन्दा बढी फेला परिसकेको छ। बाँकी १४ बिगाहा जग्गाको मूल्यांकन गर्न बाँकी नै छ।
‘अहिले भेटिएको र थप भेटिने जग्गाको पनि मूल्यांकन गरेर बिगो कायम गरिन्छ,’ ती अधिकारीले भने।
विभागले सम्पत्ति शुद्धिकरणमा बिगो, बिगोको दोब्बर जरिवाना र अधिकतम् १० वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर गर्ने गरेको छ। पुरीको मुद्दाको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको बताइएको छ।
पुरीलाई पक्राउ परेयता १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। पन्ध्र दिन म्याद थपेको एक साता नपुग्दै उनको मुद्दा अदालतमा बुझाउन विभागलाई राजनीतिक दबाब परेको छ।
नेकपा नेताहरूले पुरीको मुद्दा चाँडै अदालतमा पुर्याउन दबाब दिइरहेको स्रोतले बतायो।
पुरीलाई सरकारी छाप दस्तखत किर्तेमा यसअघि अदालतले धरौटीमा छोडेको थियो। २०७६ चैत ७ गते जिल्ला अदालतमा हाजिर हुन पुग्दा पुरी धरौटीमा छुटेका थिए।
झापा दमक नगरपालिका-८ (साबिक १३ र १४)को ३३ बिगाहा सरकारी जग्गा पुरीले कीर्ते गरेर आफ्नो नाममा ल्याएको अभियोगमा अदालतले उनलाई एक लाख ८० हजार धरौटीमा रिहा गरेको थियो।
मुद्दा दर्तासँगै बालुवाटार प्रकरण अदालतको नियमित कार्यसूचीमा प्रवेश गरेको प्रारम्भिक चरणबाटै पुरी धरौटी बुझाएर छुटेका थिए।
पुरी उनका आफन्त, नापी तथा मालपोत कर्मचारीसहित २२ जनालाई सरकारी छाप दस्तखत कीर्तेमा विपक्षी बनाइएको थियो।
विभागले हिरासतमा लिएसँगै पुरीको नाममा भएको बाँकी घरजग्गा र बैंक खाता रोक्का राखेको छ।
राष्ट्र बैंकको अनुमतिमा बैंकहरूमा रहेका पुरीका सबै खाता रोक्का राख्न पत्राचार गरिएको विभागले जनायो। मालपोत कार्यालयबाट विभागले पुरीको नाममा रहेका अन्य जग्गा रोक्का राखेको छ। सेतोपाटी साभार









































