वि.सं.२०८३ वैशाख २१ सोमवार

प्रधानमन्त्री भरतपुर आउँदै, असन्तुष्ट पक्षलाई मनाउन तीव्र कसरत

khanepani

चितवन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार भरतपुर आउने भएका छन् । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनले मेयर पदमा नेकपा (माओवादी केन्द्र)का रेनु दाहाललाई महानगर प्रमुखमा उठाएको छ ।

यसबाट असन्तुष्ट बनेका चितवनका कांग्रेस नेता/कार्यकर्ताहरूले पुराना नेता जगन्नाथ पौडेललाई मेयरमा उठाएपछि भरतपुर चर्चामा छ । यसअघि भतपुरमा गृहमन्त्री आएर तीन दिन बसेर फर्केका थिए ।

पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारी अहिले भरतपुरमा नै छन् । उनले राजनीतिक भेटभाटलाई तीव्रता दिएका छन् । बुधबार बिहान उनी बसेको होटल सिराइचुलीमा चितवनका नेता/कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो । सोही होटलमा आयोजित पत्रकार सम्मेलनमा नेता शंकर भण्डारीले प्रधानमन्त्री देउवा आज नै भरतपुर आउने जानकारी दिए ।

सत्तारुढ गठबन्धनले बिहीबार (भोलि) भरतपुरको केन्द्रीय बसपार्कमा संयुक्त चुनावी सभा आयोजना गरेको छ । सो सभालाई देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूले सम्बोधन गर्ने भएका छन् । मेयर उम्मेदवार रेनु माओवादी अध्यक्ष दाहालकी छोरी हुन् । चितवनका सत्तारुढ गठबन्धनले यहाँका सातै पालिकामा वडास्तरसम्म तालमेल गरेका छन् ।

उता पार्टीको निर्णय अवज्ञा गर्दै मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल चुनाव चिह्न भुइँकटर लिएर प्रचार अभियानमा छन् । भरतपुरमा ७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्र र कांग्रेसले तालमेल गरेका थिए । त्योबेला पनि जिल्लामा चर्को विरोध भएको थियो । यो पटक चुनावी तालमेल गर्दा भरतपुरको मेयर पद कुनै पनि हालतमा नछाड्न कांग्रेसका नेता/कार्यकर्ताको चर्को दबाब थियो ।

पार्टीका पुराना नेता टेकप्रसाद गुरुङ ७४ सालको तालमेलदेखि नै असन्तुष्ट थिए । यो पटक गुरुङ केन्द्रीय सदस्य भएका छन् । उनले अहिले पनि तालमेल गरेर भरतपुरको मेयर पद कांग्रेसले छाडे आफूले विद्रोह गर्ने बताउँदै आएका थिए । चितवनबाट निर्वाचित अर्का केन्द्रीय सदस्य दिनेश कोइरालाको विचार पनि यस्तै थियो । उनले ७४ सालको निर्वाचनमा भरतपुरबाट मेयरमा उम्मेदवारी दिएका थिए । उनी मञ्जुर नभए पनि पार्टीको पत्रले उम्मेदवारी फिर्ता भएको थियो ।

कांग्रेस चितवनको जिल्ला कार्यसमितिले नै मेयर पद आफ्नै पार्टीले पाउनु पर्ने निर्णय गरेको थियो । भरतपुर महानगरपालिकाका २९ वटै वडाका कांग्रेस सभापतिहरूको भेलाले पनि यही निर्णय गरेको थियो । तर‚ पार्टी केन्द्रले यसविपरीत निर्णय गरेपछि तल्लो तहमा असन्तुष्टि कायम रहे पनि नेताहरूको बोली फेरिन सुरु भएको थियो । उम्मेदवारी दर्ता गर्ने दिन जगन्नाथ पौडेलले जुलुसैसहित नामाङ्कन दर्ता गराए ।

पौडेलको उम्मेदवारी फिर्ता गराउन कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोनमा अनुरोध गरेका थिए । पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पनि पौडेलको घरमै पुगे । तर‚ पौडेल नमानेपछि देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई भरतपुर पठाए । खाँण र राज्यमन्त्री उमेश श्रेष्ठले घरमै भेटेर अनुरोध गरे पनि पौडेलले उम्मेदवारी फिर्ता लिन मानेनन् ।

यस्तो परिवेशमा प्रधानमन्त्री देउवा रात बस्ने गरेर भरतपुर आउन लागेका हुन् । ‘आज पार्टी सभापति बास बस्ने गरेरै चितवन आउँदै हुनुहुन्छ‚’ नेता शंकर भण्डारीले भने‚ ‘राजनीतिक लगानी र भविष्यबारे चितवनका कुनै पनि साथीले चिन्ता लिनुपर्ने अवस्था रहन्न ।’

पत्रकार सम्मेलनका क्रममा भण्डारी सँगै रहेका चितवनका पुराना नेता टेकप्रसाद गुरुङले भने‚ ‘पार्टीले मेयर पद अर्कैलाई दिए म केन्द्रीय सदस्यमा नरहन पनि सक्छु भनेकै हो । तर‚ एउटा राजनीतिक पार्टीको कार्यकर्ताले पार्टी हाइकमान्डले गरेको निर्णय मान्नुपर्छ । मैले ५२ वर्ष कांग्रेसमा लगानी गरेको छु । यो लगानीलाई फालेर बस्न सक्ने अवस्था रहँदैन । केन्द्रको निर्णयलाई मान्नु पर्ने देखेको छु ।’

असन्तुष्ट पक्षलाई समझदारीमा ल्याउन हरप्रकारका कोसिस गर्ने नेता भण्डारीले बताए ।

ranechhap