काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापति प्रकरणबारे सार्जजनिकरूपमा स्पष्टिकरण दिएका छन् । उनले यो प्रकरणमा आफू पूर्णरूपमा निर्दोष रहेको बताए ।
आज मतदातासँगको अन्तरक्रियामा बोल्दै स्थापितले आफू सधैँ महिला हिंसाविरोधी भएको उल्लेख गरे । रश्मिलालाई कामबाट हटाइएको घटनामा आफ्नो कुनै हात नरहेको उनको प्रष्टोक्ति छ ।
‘विभागीय प्रमुखदेखि सबै मन्त्रालयका प्रतिनिधि बसेर हटाउने निर्णय गरे । मलाई त थाहा पनि छैन । मेरो कुनै सम्बन्ध नरहेको कुरामा आरोप लगाउन पाइन्छ ?’ उनले भने ।
उनले रश्मिलालाई बोकेर आफूसँग प्रतिस्पर्धा नगर्न कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई चेतावनी दिए ।
ठूलो रुखमा गुलेलीले प्रहार गर्दैमा रुखले फल दिन नछाड्ने स्थापितले बताए ।
उनले भने, ‘ठूलो वृक्षमा सबैको आँखा लाग्छ । बाँदर सेनाले गुलेलीले हान्छन् । रुखले निहुरिनुपर्छ । अरुले ढुंगा हाने पनि रुखले फल नै दिने हो ।’
आफ्नो अभिव्यक्तिबाट कसैको चित्त दुखाएको भए यही मञ्चबाट माफी माग्ने स्थापितले बताए ।






































