काठमाडौं । विगत लामो समयदेखि पत्रकारीता क्षेत्रमा उल्लेखनीय योगदान दिदै हाल एबिसी टेलिभिजनमा कार्यरत पत्रकार सन्तोषी अधिकारीलाई फोकस नेपालले आठौं वार्षिकोत्सवका अवसरमा कोरोना डिफेन्स अवार्ड – २०२० बाट सम्मान गरेको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका बाबजुत समाजमा चेतना फैलाउन दिनरात खटेर समाजमा सजकता र सर्तकता अपाउन जनचेतनामुलक कार्यक्रम एवं समाचार प्रशारण गरेर महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको आयोजक संस्था फोकस नेपालले जनाएको छ ।
डेढ दशकभन्दा बढि समयदेखि पत्रकारीतामा आवद्ध सञ्चारकर्मी अधिकारी हाल एबीसी टेलिभिजनमा सह–सम्पादक, समाचार वाचिका, कार्यक्रम निर्माता र प्रस्तोताका रुपमा कार्यरत छिन् । “कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकार र नागरिक समाजको भूमिका” विषयक विचार गोष्ठी तथा कोरोना डिफेन्स अवार्ड कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सम्मान गरेका हुन् ।

यसैगरि, कार्यक्रममा हिमालय टेलिभिजनका सम्पादक रामचन्द्र अर्याल, एपी वान टेलिभिजनका प्रमुख सम्वाददाता विष्णु क्षेत्री नेपाल टेलिभिजनका ललितपुर सम्बाददाता ईश्वर महर्जन, सगरमाथा टेलिभिजनका समाचार सम्पादक रमेश वाग्लेलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा शहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले कोरोना कहरकाबीच सबैले हातेमाले गरेर अगाडी बढ्न सके कोरोनालाई नेपालले अवश्य जित्न सक्ने बताए । उनले महामारीका समयमा आफ्नो जिउ–ज्यानको बाजी लगाएर सञ्चार, उद्योग, समाजिक, आर्थिक क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको सम्मान सरकारले गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा आयोजक फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए । कार्यक्रममा विभिन्न विधामा कार्यरत सञ्चारकर्मी, समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।









































