वि.सं.२०८१ माघ २८ सोमवार

महानगर शहरलाई कुरुप बनाउने खेलमा, खुल्ला ठाउमा भब्य महल र गाडि पार्क

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/७८ माथि नगरपरिषद्मा छलफल चलिरहेको छ । लैनचौरमा बहुतले पार्किङ, तीनकुनेमा भूमिगत पार्किङ र सभाहलसहितको बुद्धपार्क तथा भृकुटीमण्डपमा विशाल सभाहल (मेगाहल) बनाउने योजनालाई बजेटमा समेटिएको छ ।

यी योजनाहरूमध्ये लैनचौरको बहुतले पार्किङ र तीनकुनेको बुद्धपार्क निर्माणको योजना जनप्रतिनिधिहरू निर्वाचित हुनु अघिको हो । महाभूकम्प पछि सहरमा खुल्ला ठाउँ चाहिन्छ भन्ने मान्यता र स्थानीयको विरोधका कारण योजनाहरू अघि बढेका छैनन् ।

निर्वाचनमा सुनाएको मोनोरेलको योजना पूरा नहुने देखेपछि नगरप्रमुख विद्यासुन्दर शाक्य महानगर र नगर कार्यपालिकाको नीति विपरीत बचेखुचेका खुला ठाउँ मास्न अग्रसर भएका छन् ।

आगामी वर्षका लागि महानगरले ल्याएको नीति तथा कार्यक्रममा ‘महानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ति जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाएर सार्वजनिक जग्गा संरक्षण गर्नेे कार्यलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गरिने’ उल्लेख छ ।

बजेेटमा र स्थानीयको आवश्यकता खुला पार्क र खेल मैदान निर्माणतर्फ भए पनि महानगरले भने कंक्रिटका संरचना उभ्याउने योजना अघि सारेको छ । काठमाडौंका खुला ठाउँहरूको दोहन र पुरातात्विक सम्पदाको विनाशमा स्वयं महानगरपालिका र नेपाली सेना अग्रसर भएको आरोप लाग्दै आएको छ ।

काठमाडौंको केन्द्रमा बचेका केही सार्वजनिक स्थलमा व्यावसायिक उद्देश्यले अतिक्रमण गर्ने योजनाहरू महानगरको बजेटमा समेटिएका छन् । ठेक्कामा कमिसन र भाडाको रूपमा महानगरको आम्दानी बढाउने उद्देश्यले सहरी सुशासन र स्वच्छ वातावरण प्रतिकूल यस्ता योजनाहरू बजेटमा राखिएका छन् ।

भूकम्पले सिकाएको पाठ बिर्सिएर अहिले जनप्रतिनिधिहरू नै आर्थिक लाभका लागि खुला ठाउँ मास्न लागिपरेको सहरी पूर्वाधार विज्ञहरूको आरोप छ ।

विज्ञहरू पुरानो बसपार्कमा २९ तले भ्युटावर र खुलामञ्चमा क्रसर तथा बसपार्क चलाउन दिएर आलोचना खेपेका नगरप्रमुख शाक्य नै आर्थिक लाभमा लिप्त भएको आरोप लगाउँछन् । सहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा भन्छन्, ‘महानगरका यस्ता योजनाहरू पूरा भए काठमाडौं मान्छे बस्न लायक रहँदन ।’

उनका अनुसार काठमाडौंमा यसैपनि खुला क्षेत्रहरू छैनन्, जति बाँकी छन् ती नगरबासीको उकुसमुकस फुकाउने थलो हुन् । भन्छन्, ‘अतिक्रमित सार्वजनिक जग्गाहरू फिर्ता र निजी जमिन किनेर भए पनि खुला ठाउँ बढाउनु पर्नेमा भएका ठाउँ पनि मास्नु भनेको सरासर आत्माघात हो ।’

किशोर थापा
महानगरले करबापत यो वर्ष उठाएको साढे तीन अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । त्यो पैसा पुँजीगत खर्चमा नलगाई डेढ अर्ब ब्याज आउने गरी नबिल बैङ्कको मुद्धति खाता राखिएको छ । त्यस्तो उपयोगविहीन रकमले महानगरलाई आवश्यक भवनलगायत संरचनाका लागि निजी जग्गा किन्नुपर्ने पूर्व सचिव थापा बताउँछन् ।

भविष्यमा चाहेर पनि तीनकुने, भृकुटीमण्डप र लैनचौरजस्ता खुला क्षेत्र बनाउन नसकिने हुनाले तीनको संरक्षण र सदुपयोगको योजना ल्याउनुपर्ने थापाको मत छ ।

Untitled