वि.सं.२०८३ जेठ ३१ आइतवार

चुनावमा सहभागिताबारे विवादका बीच प्रभावशाली नेताले छाडे विप्लवको साथ, माओवादीमा प्रवेश

khanepani

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक दर्जन केन्द्रीय नेता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । माओवादी मुख्यालय पेरिसडाँडामा एक कार्यक्रमका बीच उनीहरूले विप्लवको साथ त्यागेका हुन् ।

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेता हेमराज भट्टराई ‘श्रवण’, रामप्रसाद तिमिल्सिना ‘राप्ती’, भगत बडुवाल, भरत धानुक, बहादुर पुकार, प्रेम वयक, रक्षा, हरिलाल थापा, रसुवाका पूर्वजिल्ला सेक्रेटरीलगायतलाई पार्टीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए ।

उनीहरू अधिकांश सुदूरपश्चिम प्रदेशका हुन् । पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सुदूरपरिश्चममा माओवादीको कोर टिम एक ठाउँमा आइपुगेको बताए ।

आफूले पनि विगतमा केही गल्ती गरेको स्वीकार्दै महाधिवेशनको दस्तावेजमार्फत त्यसलाई आत्मबोध गर्दै सुधारको बाटोमा अघि बढेको प्रचण्डले बताए ।

जनयुद्धमा सबै एक ढिक्का भएर लडेको भन्दै उपलब्धीको रक्षाका लागि अब फेरि एक ठाउँ भएर पुन: भिड्ने दिन आएको प्रचण्डको भनाइ छ ।

मोहन वैद्य, बाबुराम, विल्लवतिर लक्षित गर्दै प्रचण्डले भने, ‘पार्टी विभाजन हुनु सही थिएन । पार्टी फुटाएर प्रतिक्रियावादीलाई फाइदा पुर्‍याउने मात्र काम भयो । तपाईंहरू जाँदा मलाई त्यत्रो चित्त दुखेको थिएन । तर, जो नेतृत्व गरेर जाने थिए तिनीहरूसँग मेरो रिजर्भेसन थियो । उनीहरू क्रान्तिको चरित्रका थिएनन् ।’

प्रचण्ड हुने सपना बोकेर जानेहरूलाई अहिले पार्टीमा फर्किन लाज भएको उनको भनाइ थियो ।

ranechhap