एजेन्सी । अमेरिका ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले जितपछि पहिलो पटक सम्बोधन गरेका छन्।
विलमिङट्नमा समर्थक र देशवासीलाई सम्बोधन गर्दै बाइडेनले एकताको सन्देश दिएका छन्।
डेमोक्र्याटिक र रिपब्लिकनमा विभाजित भएको अमेरिकालाई एक बनाउनु पर्ने बेला आएको बताए।
सम्बोधनका क्रममा उनले कोरोनाभाइरस महामारीबाट पीडित अमेरिकालाई मजबुत बनाउन भिजन व्यक्त गरे भने राष्ट्रपति ट्रम्पका समर्थकप्रति सहानुभूति व्यक्त गरे।
‘तपाईंहरू ज-जसले राष्ट्रपति ट्रम्पलाई भोट दिनुभयो। आज तपाईंहरूलाई लागेको दु:ख म बुझ्छु,’ बाइडेनले भने,‘किनकी मैले पनि धेरै पटक हारेको छु। तर अहिलेका लागि एकअर्कालाई मौका दिऊँ। यो एकअर्का प्रति तीतो व्यक्त नगर्ने, शान्त हुने र एकअर्कालाई हेर्ने फेरि एक अर्कालाई सुन्ने बेला हो।’
यो अमेरिकालाई घाउबाट निको बनाउने बेला भएको पनि बाइडेनले बताए।
‘विभाजन गर्न खोज्ने होइन, एकता गर्ने राष्ट्रपति बन्ने मेरो वाचा छ,’ बाइडेनले भने,‘म रेड स्टेटस् (रिपब्लिकनले जितेका राज्य) र ब्लु स्टेटस् (डेमोक्र्याटले जितेका राज्य) हेर्ने छैन म त युनाइटेड स्टेस्टस् मात्र देख्नेछु।’
उपराष्ट्रपति निर्वाचित भएकी सिनेटर कमला ह्यारिसले पनि सम्बोधन गर्दै अमेरिकी मतदाताले आशा र एकता, इमानदारी, विज्ञान र सत्यलाई चुनेको बताइन्।
उनले आफ्नी आमा श्यामला गोपालन र आजको दिन ल्याउन निरन्तर प्रयास गर्ने अमेरिकाभरिका महिलालाई सम्झिइन्।
‘उप राष्ट्रपतिको कार्यालयमा म पहिलो महिला भए पनि अन्तिम महिला हुनेछैन,’ उनले भनिन्,‘किनकी आजको रात हेरिरहेकी सानी बालिकालाई पनि लाग्नेछ कि-यो सम्भावनाहरूको देश हो।’









































