काठमाडौं । पूर्व न्यायाधीश बलराम केसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा उपस्थित भएका छन् र आफ्नो बोल्ने अधिकार संकुचित गरिएको बताएका छन् ।
संवैधानिक नियुक्तिहरुलाई लिएर परेको रिटमा न्यायाधीश हरि फूयालको एकल इजलासले १७ भदौ २०७८ मा जारी गरेको अन्तरिम आदेशले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्न खोजिएको भन्दै केसीले २९ भदौमा निवेदन दिएका थिए । उनको निवेदन बुधबार संवैधानिक इजलासमा पेश भयो ।
त्यस क्रममा आफ्ना कुरा राख्दै केसीले पूर्व न्यायाधीशलाई बोल्नबाट रोक्न खोजिएको बताए । प्रशंगवश हालेर पूर्व न्यायाधीश भनिएको भन्दै केसीले भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रता त पूर्व न्यायाधीशको पनि हुन्छ । एकल इजलासको आदेशले हाम्रो अभिव्यक्ति स्वतन्त्रतालाई रोक्न खोज्यो । इजलासले रोकेपछि त मैले लेख्न, बोल्न नपाउने भएँ । म खत्तम हुने भएँ ।’









































