काठमाडौं । पल शाहविरुद्धको बलात्कार अभियोगमा अहिले जिल्ला अदालत तनहुँमा थुनछेक बहस सुरु भएको छ।
जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुङ्गानाको इजलासमा बहस केहीबेरअघि सुरु भएको श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए। अहिले जाहेरवालाका तर्फबाट बहस भइरहेको छ।
कुँवरका अनुसार जाहेरवालातर्फबाट ७ जना र प्रतिवादीतर्फबाट १० जना कानुन व्यवसायीले वकालतमा दर्ता गराएका छन्।
‘अहिलेसम्म १७ जना कानुन व्यवसायीको वकालतनामा दर्ता भएको छ। पछि बढ्न पनि सक्छ’, कुँवरले भने।
बहस गर्न वकालतमा दर्ता अनिवार्य हुन्छ। तर वकालतमा दर्ता गराएका सबैले बहस गर्छन् भन्ने निश्चित भने हुँदैन। दुवै आरोपी शाह र कृष्ण जोशीको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो।
थुनछेकको बहसपछि न्यायाधीशले उनिहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश सुनाउनेछन्।









































