वि.सं.२०८३ वैशाख २१ सोमवार

१५ वर्षपछि सानो पार्टीसहित आफ्नै घरमा फर्किए पूर्वमन्त्री प्रेमबहादुर सिंह

khanepani

काठमाडौं । पूर्व मन्त्री प्रेमबहादुर सिंह १५ वर्षपछि आफ्नो नेतृत्वको सानो पार्टीसहित नेकपा एमालेमा फर्किएका छन् । उनले एमाले त्यागेका थिएनन्, बरु एमालेले उनीमाथि कारबाही गरेपछि अलग पार्टी बनाएर बसेका थिए ।

एमालेबाट बाहिरिएको १५वर्षको बिचमा उनी दुई पटक संविधानसभा सदस्य र मन्त्री समेत बने । संविधानले थ्रेसहोल्डको व्यवस्था गरेपछि सिंहको समाजवादी जनता पार्टीले ३ प्रतिशत मत ल्याउन नसकेका कारण उनी सांसद बन्न पाएनन् ।

अन्ततः उनी आफ्नो पुरानै घर एमालेमा फर्किएका छन् । बुधवार एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सिंहले आफ्नो पार्टीका अन्य नेताहरूसहित समाजवादी जनता पार्टी नै एमालेमा समाहित गराए । उनलाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले स्वागत गरे ।

एमालेबाट प्रेमबहादुर सिंहको बहिर्गमनको आफ्नै कथा छ । २०५६ सालको आम निर्वाचनमा उनी कालिकोटबाट एमालेको सांसद निर्वाचित भएका थिए । उनी आफूमात्र जितेका थिएनन्,एमालेको तत्कालीन कर्णाली अञ्चल इन्चार्जको हिसाबले उनले कर्णालीका पाँचवटै जिल्लामा एमालेलाई जिताएको श्रेय पनि पाएका थिए ।

सिंह कर्णालीका पहिलो पुस्ताका वामपन्थी नेता हुन् भन्दा हुन्छ । नेपाल मजदुर किसान पार्टीबाट राजनीति सुरु गरेका सिंह कर्णालीमा एमालेको संस्थापकमध्येका एक हुन् । उनी राष्ट्रियसभा सदस्य भएकै बेला २०६४ सालमा कानून मन्त्री बनेका थिए ।

सिंहको राजनीतिक जीवनले राजा ज्ञानेन्द्रको शासन सत्ता हातमा लिने कदमपछि अर्कै मोड लियो । उनले तत्कालीन राजाको शाही कदमको पक्षमा आफूलाई उभ्याएका थिए । त्यही भएर जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभामा एमालेले उनको उपस्थिति हुन दिएन । उनीसहित राजाको कदमको पक्षमा उभिएका अन्य दलका सांसदहरूलाई समेत अन्तरिम सांसदबाट निष्कासन गरिएपछि सिंह एमालेबाट अलग भएका थिए ।

अन्ततः उनी जीवनको उत्तरार्धमा आफैले बनाएको घरमा फर्किएका छन् ।

ranechhap