06, May, 2024

घर-गाडी किन्नेलाई कहिल्यै ब्याज नबढाउने शर्तमा बैंकहरूले दिन थाले ऋण

Bagmati Voice
संवाददाता
२० कार्तिक २०७७, बिहीबार १६:४५ | ३ साल अगाडी

काठमाडौं । बैंकहरुले घर, गाडी लगायत व्यक्तिगत आवधिक प्रकृतिको कर्जामा स्थिर ब्याजदर लागू गरेका छन्। ऋण चुक्ता नहुन्जेलसम्मै ब्याजदर घटबढ नहुने शर्तमा अब ऋणीले बैंकसँग सम्झौता गर्न सक्छन्।

वारम्बार बैंकहरुले ब्याजदर बढाउने गरेको समस्यापछि राष्ट्र बैंकले कहिल्यै परिवर्तन नहुनेगरी व्यक्तिगत आवधिक कर्जा प्रदान गर्न निर्देशन दिएको थियो। निर्देशनपछि बैंकहरुले स्थिर ब्याजदर सार्वजनिक गरेका छन्।

यद्यपि ऋणीलाई सुरुआतमा परिवर्तनशीलभन्दा स्थिर ब्याजदर ४ प्रतिशतसम्म महँगो पर्ने भएको छ। हाल कायम भएको आधार दरभन्दा बैंकहरुले दोब्बरसम्म स्थिर ब्याजदर तोकेका छन्।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले सबै बैंकहरुले स्थिर ब्याजदर तोकिसकेको जानकारी दिए। व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर तोके पनि अहिलेसम्म बैंकबाट यस्तो कर्जा प्रवाह नभएको उनले बताए।

‘सुरुआतमा स्थिर ब्याजदर केही महँगो छ, ऋणीले पछिका लागि भन्दा पनि अहिलेकै लागि सोच्ने रहेछन्, स्थिर ब्याजदर तोकेका त छौं, तर ऋण गएको छैन’ उनले भने।

अन्य बैंकहरुबाट पनि यस्तो प्रकारको कर्जा प्रवाह जान सकेको छैन। कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले स्थिर ब्याजदरमा ऋण लिनका लागि आकर्षण नदेखिएको बताए।

‘भोलि अझै ब्याजदर घट्न सक्ने अनुमानले पनि होला यस्तो ऋण चाहेको देखिएन’ उनले भने।

बैंकहरुमा अहिले लगानीयोग्य रकम पर्याप्त भए पनि सीमित अवधिका लागि मात्रै हुने कतिपयको अनुमान छ। रकम अभाव भएको खण्डमा पुनः ब्याजदर बढ्न सक्नेछ।

तर हाल स्थिर ब्याजदरमा भनेर दिइने ऋणको ब्याज भने तोकिएको अवधिसम्म नै कायम हुनेछ, बैंकहरुले बीचमा बढाउन पाउने छैनन्।

‘निक्षेप लिँदा लामो अवधिका लागि हामीले दिने ब्याजदर पनि बढी हुन्छ, १० वर्षसम्मका लागि निक्षेप लिँदा १० प्रतिशतमुनि पाइएकै छैन’ कोइरालाले भने ‘त्यसकारण स्थिर ब्याजदर सुरुआतमा केही महँगो देखिएको छ।’

भोलि ब्याजदर घटबढ भएमा त्यसको जोखिम लिन नचाहनेलाई स्थिर ब्याजदर उपयुक्त हुन सक्छ। तर ब्याजदर घट्दा वा सुरुआतमै फाइदा लिने र बढ्दा पनि जोखिम लिन खोज्नेलाई भने परिवर्तनशील ब्याजदर उपयुक्त देखिएको छ। किनकि हरेक बैंकले परिवर्तनशीलभन्दा स्थिर ब्याजदर बढी कायम गरेका छन्।

यसअघि घर र गाडी खरिद गर्दा व्यक्तिगत नाममा ऋण लिइसकेकाले पनि चाहेमा स्थिर ब्याजदर कायम हुनेगरी बैंकसँग सम्झौता गर्न सक्छन्।

ऋण चुक्ता हुने अवधि जति लामो भयो, स्थिर ब्याजदर पनि बैंकहरुले त्यति बढी तोकेको पाइन्छ। अर्थात एउटै बैंकबाट १५ वर्षभित्र चुक्ता गर्नेगरी लिइने घर(गाडी कर्जाभन्दा ५ वर्षभित्र चुक्ता गर्नेगरी लिइने कर्जाको ब्याजदर कम भएको पाइन्छ।

बैंकहरुले घररगाडी कर्जामा घटबढ नहुनेगरी तोकेको ब्याजदर ७. ९९ देखि १४ प्रतिशतसम्म छ। ग्लोबल आइएमई बैंकले ५ वर्षसम्मको अवधिका लागि घर कर्जा लिनेलाई ब्याजदर ७.९९ देखि ८.९९ सम्म तोकेको छ। १० वर्षसम्मको लागि ९ देखि ९.९९ सम्म तथा १५ वर्षसम्मका लागि ऋण लिँदा १० देखि १०.९९ सम्म स्थिर ब्याजदर तोकेको छ।

त्यस्तै बैंकले अटो लोनमा ५ वर्षसम्मको लागि ८.९९ देखि ९.९९ प्रतिशतसम्म र ५ वर्षभन्दा माथिको अवधिका लागि १० देखि ११.९९ प्रतिशतसम्म स्थिर ब्याजदर तोकेको छ।

कुमारी बैंकले १ देखि ५ वर्षसम्मको अवधिका लागि साढे १० प्रतिशत तथा ५ वर्षभन्दा माथिको अवधिका लागि ११ प्रतिशत स्थिर ब्याजदर तोकेको छ। असोज मसान्तसम्म बैंकको आधार दर ८.४० प्रतिशत छ।

त्यस्तै माछापुच्छ्रे बैंकले १० वर्षभन्दा बढी अवधिको लागि स्थिर ब्याजदरमा घरकर्जा लिनेलाई ११.८९ प्रतिशत दर तोकेको छ। ५ वर्षसम्मको लागि ९.८९ प्रतिशत, १० वर्षसम्मका लागि १०.८९ प्रतिशत छ।

गाडी कर्जातर्फ ५ वर्षको लागि ९.९९ प्रतिशत, १० वर्षसम्मका लागि १०.९९ प्रतिशत स्थिर ब्याजदर बैंकले तोकेको छ।
असोज मसान्तसम्म बैंकको आधार दर जम्मा ८.३१ प्रतिशत छ।

एभरेष्ट बैंकले १० वर्षमाथिको अवधिका लागि हाउजिङ लोन (१ करोडसम्म) स्थिर ब्याजदर १३.४८ प्रतिशत तोकेको छ। ५ वर्षसम्मको अवधिका लागि यस्तो दर १०.९८ प्रतिशत मात्रै भने ५ देखि १० वर्षसम्मको अवधिका लागि ११.९८ प्रतिशत छ।

बैंकले १ करोडभन्दा बढी रकमको सोही ऋण दिनका लागि केही बढी दर तोकेको छ। १ करोडभन्दा माथिको हाउजिङ लोनमा १० वर्षभन्दा बढी अवधिका लागि १३.९८ प्रतिशत ब्याजदर तोकेको छ। त्यस्तै ५ वर्ष अवधिसम्मका लागि ११.४८ प्रतिशत र ५ देखि १० वर्षसम्मको अवधिका लागि १२.४८ प्रतिशत तोकेको छ।

त्यस्तै स्थिर दरमा गाडी किन्नेलाई ऋण दिनका लागि ३ वर्षसम्मको अवधिका लागि १०.७३ प्रतिशत, ५ वर्षसम्मका लागि ११.४८ प्रतिशत १० वर्षसम्मका लागि १२.४८ प्रतिशत तोकेको छ।

भदौ मसान्तसम्म एभरेष्ट बैंकको आधार दर जम्मा ६.९२ प्रतिशत मात्रै छ।

एनआइसी एसिया बैंकले घर कर्जामा ५ वर्षसम्मको अवधिका लागि १३ प्रतिशत ब्याजदर तोकेको छ भने १० वर्षसम्मको लागि १३.५ तथा १५ वर्षसम्मको लागि १४ प्रतिशत तोकेको छ।

त्यस्तै सवारी कर्जातर्फ ५ वर्षसम्मको लागि १३ प्रतिशत, ७ वर्षसम्मको लागि १३.५० र १० वर्षसम्मका लागि १४ प्रतिशत तोकेको छ। बैंकको भदौ मसान्तसम्म आधार दर जम्मा ६.९८ प्रतिशत रहेको छ।

नविल बैंकले ५ वर्षसम्मका लागि हाउजिङ र अटो लोनको ब्याजदर १० प्रतिशत तोकेको छ त्यस्तै ५ देखि १० वर्षसम्मका लागि १०.५ र १० देखि १५ वर्षसम्मको अवधिका लागि ११ प्रतिशत तोकेको छ। असोज मसान्तसम्म बैंकको आधार दर ६.७४ प्रतिशतमा छ।

सानिमा बैंकले १३ महिनासम्मका लागि दिइने व्यक्तिगत आवधिक कर्जाको स्थिर ब्याजदर ८.२५ प्रतिशत तोकेको छ भने २ वर्षसम्मका लागि ९.५ प्रतिशत, ३ वर्षसम्मको लागि ११ प्रतिशत र ३ वर्षमाथिको लागि १३ प्रतिशतसम्म हुने जनाएको छ।

सिद्धार्थ बैंकले डेढ करोड रुपैयाँसम्म ५ वर्षे अवधिसम्मका लागि घर कर्जा लिनेलाई ८.९९ देखि ९.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ भने ५ देखि १० वर्षसम्मको लागि ९.२५ देखि ९.९९ प्रतिशतसम्म तोकेको छ। त्यस्तै १० वर्षभन्दा माथिको अवधिका लागि ९.५ देखि १०. ५ प्रतिशतसम्म तोकेको छ।

अटो लोनमा ५ वर्षसम्मको अवधिका लागि ८.९९ देखि ९.९९ सम्म तथा १० वर्षसम्मका लागि ९.५० देखि १०.९९ प्रतिशतसम्म तोकेको छ।

भदौ मसान्तसम्म बैंकको आधार दर ८.२० प्रतिशत छ। प्राइम कमर्सियल बैंकले ५ देखि २० वर्षसम्मको घर कर्जाका लागि ११ देखि १२.५ प्रतिशतसम्म स्थिर ब्याजदर तोकेको छ।

केही बैंकले सार्वजनिक गरेको स्थिर ब्याजदरलाई उदाहरणका रुपमा यहाँ प्रस्तुत गरिएको हो। यीबाहेक अन्य बैंकहरुले पनि स्थिर ब्याजदरको ऋण दिनेगरी अवधिअनुसारको दर तोकेका छन्।

२० कार्तिक २०७७, बिहीबार १६:४५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading