06, May, 2024

आत्महत्या दुरुत्साहनमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि थुनामा

Bagmati Voice
संवाददाता
१९ कार्तिक २०७७, बुधबार १९:०८ | ३ साल अगाडी

नुवाकोट । बोक्सीको आरोपमा आत्महत्या गर्न बाध्य पारिएको भन्दै पक्राउ परेका दुई जना पुर्पक्षका लागि थुनामा पठाइएको छ । एक जना भने फरार छन् ।

तादी गाउँपालिका १ का लक्षु तामाङ र आइतमान तामाङलाई आत्महत्या दुरुत्साहनमा पक्राउ गरी पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको हो । सोही ठाउँका सोम्बर तामाङ भने फरार छन् । उनीहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालयले प्रहरीले पक्राउ गरी नुवाकोट अदालतमा पेस गरेपछि पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।

गएको असोज १६ गते तादी गाउँपालिका १ की ५२ वर्षीया सन्चमाया तामाङलाई आरोपी लक्षु तामाङले घरमा लगेर आफ्नी श्रीमती कान्छीमाया तामाङ बिरामी भएको र बोक्सी लगाई बिरामी पारेको आरोप लगाई धाकधम्की तथा यातना दिएको प्रहरीले जनाएको छ । त्यसपछि सन्चमाया मानसिक तनावमा रहेको र पछि उनले विष सेवन गरी आत्महत्या गरेको प्रहरीले बताएको छ ।

उनलाई विष सेवन गरी आत्महत्या गर्न बाध्य पारेको भन्दै उनका ५६ वर्षीय श्रीमान् लालबहादुर तामाङले प्रहरीमा उजुरी दिएका थिए । मृतक महिलालाई विगतदेखि नै लक्षु तामाङ सहितको स्थानीयले बोक्सीको आरोप लगाउँदै आइरहेका थिए ।

फरार रहेका सोम्बर तामाङको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका ईन्स्पेक्टर तथा सूचना अधिकारी अनिल पण्डितले बताए ।

१९ कार्तिक २०७७, बुधबार १९:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading