काठमाडौं । काठमाडौंको चोभारस्थित चोभार सुख्खा बन्दरगाह एक साताभित्रमा सञ्चालनमा आउने भएको छ । सुख्खा बन्दरगाह सञ्चालनका लागि भइरहेको तयारी अन्तिम अवस्थामा पुगेको भन्सार विभागले जनाएको छ ।
‘सम्भवत एक साताभित्रै यो बन्दरगाह सञ्चालनको घोषणा हुनेछ,’ विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले अनलाइनखबरसँग भने, ‘कर्मचारी व्यवस्थापन, कानुनी प्रावधान र अन्य कामहरु लगभग सकिएको छ ।’
बन्दरगाह सञ्चालनका लागि उक्त क्षेत्रलाई भन्सार क्षेत्र घोषणा, प्रमुख भन्सार अधिकृतसहित कर्मचारी व्यवस्थापन, पैठारी तथा निकासी भएर आउने वस्तुको बन्दरगाहसम्म पहुँचसम्बन्धि कानुनी व्यवस्था लगायतको काम सकिएको खड्काले बताए । निर्वाचन आचारसंहिता लागू हुनुभन्दा पहिले नै बन्दरगाह सञ्चालन गर्नेगरी कामहरु अघि बढेको र यसै विषयमा शुक्रबार मन्त्रालयमा बैठक पनि रहेको उनले बताए ।
गत १० फागुनमा सरकारले बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा गरेको थियो । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले हालको कीर्तिपुर नगरपालिका–६ को सुख्खा बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा गरेको हो । बन्दरगाहको कुल क्षेत्रफल २ सय ६० रोपनी छ ।









































