29, Apr, 2024

यूक्रेनको युद्ध र यसका खेलाडीहरू…

Bagmati Voice
संवाददाता
२७ फाल्गुन २०७८, शुक्रबार १३:३८ | २ साल अगाडी

अहिले युक्रेन र रसियाको बिचमा युद्ध भइरहेको छ। युद्ध किन भयो र हुँदैछ यो विषय रहस्य भन्दा बाहिर छैन। युक्रेन र रसिया बाहिरका देशहरू युद्धको समर्थन र विरोधमा छन्। युक्रेन युद्धभूमि बनेको छ। रसियाले युक्रेन सँग युद्ध गर्दैछ तर उसको खाँटी दुस्मनी युक्रेनसँग छैन। यो विचित्रको युद्ध हुँदैछ। रुस ठूलो शक्ति राष्ट्र हो। युक्रेनलाई यो कुरा थाहा छ। तर रसियासँग युद्धको आह्वान किन गर्याे यूक्रेनले। रुस, अमेरिकालाई युद्धको विषयमा थाहा छ ।दुवैको सम्बन्ध इतिहासदेखि नै कटाक्ष छ। अमेरिका रसियालाई 90 को दशकको नजरमा हेर्न चाहन्छ। यूकेन लगायत तत्कालीन सोभियत रुसबाट छुट्टिएका राष्ट्रहरुलाई अमेरिका आफ्नााे आशीर्वाद ठान्छ। तर रसियाको नजिकै नेटोको विस्तार रसिया कुनै हालतमा चाहँदैन । जसको परिणाम युद्धकाे मैदान युक्रेन बन्दैछ।

युक्रेनसँग रसियाको माटोको इगाे छ। त्यही इगाेबाट बच्न युक्रेन अमेरिकाको शरणमा पुग्यो। तर अमेरिकाले युक्रेनको राष्ट्रियतालाई रसियाको विरुद्धमा उपयोग गर्न खोज्यो ।जुनकुरा युक्रेनले बुझेन। बुझ्नुपर्थ्यो। युक्रेन युरोप होइन तर युरोपसँग रमाउन चाहन्छ । युक्रेन नेटोको सदस्यता लिन चाहन्छ। नेटाे सदस्यताबाट परम्परागत शक्ति रसियाबाट मुक्त हुन चाहन्छ ।जुन विषय रसिया आफ्नो सुरक्षा चुनौती ठान्छ।युरोपको आफ्नै इतिहास छ ।राष्ट्रियता र स्वतन्त्रताको लागि यूरोपका देशहरुले थुप्रै युद्ध लडेका छन्। तर शीत युद्ध पछि यूरोपियन देशहरुले आफ्नो वैदेशिक नीतिलाई अमेरिकाको नीति भन्दा भिन्न रूपमा हेर्न सकेका छैनन् ।जसको वर्तमान प्रभाव युक्रेनमा परेको छ। वार्सा गुटको अन्त्य पछि नेटोको प्रतिबद्धता अमेरिकाले पूरा गरेन ।रसियालाई 1990 कै दशकमा राखेर हेर्ने दृष्टिकोण लाई पश्चिमाहरुले फरक देखेनन् ।नेटोको विस्तार अमेरिका सोवियत रुसको सम्झौताको विपरीत थियो र छ ।रसियाले यसलाई आत्मसम्मानको हतियार बनाउनु अस्वाभाविक होइन। जुन पश्चिमाहरुले बुझेर पनि बुझ पचाए र यसको प्रत्युत्पादक अहिले युक्रेन बनेको छ।

तेस्रो विश्वयुद्धको मैदान तयार भइसकेको छ तर, यस्का नायकहरु भौतिकरुपमा लड्न तयार छैनन् ।अमेरिकाले युक्रेनको युद्धको अनुमान गरेको थिएन तर रसियालाई नेटोको विरुद्धमा उभिन हतार थियो। यो विषय युक्रेनले किन बुझेन अचम्म छ। युक्रेन भर्खर जन्मिएको देश हो। यो विषय युकेनले बुझ्नुपर्ने थियो। सबै क्षेत्रमा युक्रेन, रसिया र युरोपसँग प्रतिस्पर्धामा छ ।युरोप र रसियाको वफरजनको रुपमा युक्रेनले आफूलाई प्रयोग गर्न नसक्नु र आत्म रक्षाकोलागि अमेरिका र नेटोको शरणमा जानु सबैभन्दा ठूलो भूल थियो। र यसको प्रत्तक्ष्य असर अहिले युक्रेनी जनताले भोग्दै छन्।

युद्ध सुरु हुनेबित्तिकै जीवन रक्षाकोलागि जेलेस्की देश छोड्न स्वतन्त्र छन् भन्ने सन्देश अमेरिकाले दिएको थियो। यो नेटोको युक्रेनलाई पहिलो सन्देश थियो ।जुन युक्रेनको नेतृत्वले बुझेन अथवा नेटो र अमेरिकाप्रति युक्रेनलाई पूर्ण विश्वास थियो। पछिल्ला दिनमा नेटो र अमेरिका आफूप्रति यति कठोर हुन्छन् भन्ने विश्वास युक्रेनको थिएन। पश्चिमाहरुले रुसलाई कठोर प्रतिबन्धको सजाय सुनाउँदैछन्।रसियामाथि प्रतिबन्धका थुप्रै समाचारहरु आए । आउँदैछन्।सबैलाई थाहा छ । रसिया आफैंमा एउटा महादेश हो। चीन-भारत लगायत झन्डै दुईतिहाई विश्वमा रसियाको बजार छ। जसलाई तत्कालीन रूपमा समानान्तर बन्देज लगाउन सकिँदैन भन्ने विषय रसियामाथि प्रतिबन्ध लगाउने देशहरुलाई पनि थाहा छ। तर यथार्थ समाचार भन्दा बाहिर विषयले युक्रेनको पक्षमा विश्व जन्मत बढ्दै गयो । कुरा अर्कै थियो , युक्रेनको नेतृत्वले आफ्ना जनतालाई बुझाउन सकेनन् र आज नेतृत्व नै इतिहासमा ठुलो विवादमा पर्ने निश्चित भएको छ।

युक्रेन र रसियाको युद्ध दुईपक्षीय नभएर रणनीतिक हाे।। राष्ट्रियता र सार्वभौमसत्ताको विषय आन्तरिक राष्ट्रवादलाई मजबुत पार्न र अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो अस्तित्व देखाउनलाई हुन्छ तर युक्रेनमा राष्ट्रियतालाई पश्चिमाहरुले हतियारको रुपमा प्रयोग गरेका छन् जुन विषय रसियालाई राम्रोसँग थाहा छ।

रसियाले युक्रेन सँग युद्ध गर्नु पर्ने कारणलाई युक्रेनले राम्ररी बुझ्न सकेन । सोवियत रुसको एउटा भाग युक्रेनलाई रसियाले आफ्नो प्रभाव पश्चिमाहरूको हातमा दिन चाहँदैन भन्नेकुरा युक्रेनले बुझ्नुपर्थ्यो। पश्चिमा र रसिया सँग शक्ति सन्तुलनको आधारमा कुटनैतिक सम्बन्ध राख्न नसक्नु नै युक्रेनको कमजोरी देखिन्छ । राष्ट्रपति पुतिन अत्यन्तै शक्तिशाली राष्ट्रपति, नेटो र पश्चिमासँग रसियाको गहिरो इखलाई युक्रेनले नजरअन्दाज गर्नु हुँदैनथ्यो। जसको प्रयोगशाला अहिले युक्रेन बनेको छ।

अब विश्वको राजनीति कायापलट हुँदैछ । युक्रेनमा रसियालाई लडाइ राख्ने पश्चिमा नीति सफल हुन्छ कि हुँदैन यसमा विश्व राजनीतिको दृष्टि छ । युक्रेनकाे नेटो प्रतिको बढ्दो अविश्वासलाई अमेरिकाले जित्न सक्छ कि सक्दैन यसमा युक्रेनको भविष्य निर्भर गर्छ ।तर अहिले रसिया विन-विन र युक्रेन लुज-लुज अवस्थामा देखिन्छ ।जसको फाइदा अमेरिका, चीन र दक्षिणपूर्वी यसियाले पाउने निश्चित देखिन्छ। युरोपियन देशहरु रसिया र अमेरिकाको सम्बन्धको विषयमा पहिलेको भन्दा अझ चिन्तित अवस्थामा पुगेका छन् ।जुन कुरा युक्रेनका केही अमेरिकी नीतिहरुमा यूरोपीय देशहरूले आफ्नो फरक धारणा राखेकोबाट स्पष्ट हुन्छ। युद्धको परीणाम अमेरिका भन्दा यूरोपीय देशहरुमा भयानक हुन्छ । यूरोपीय देशहरुमा यस विषयको आँखा खुलिसकेको छ। यूरोपीय देशहरु रसियासंगको व्यापार र अन्तरसम्बन्धलाई छाडेर सबै विषयमा अमेरिकाको नजिक जान्छन् भन्ने कुरामा पछिल्लो परिस्थिति त्यति विश्वशनीय छैन।

युद्धको पछिल्लो दिनमा युक्रेन स्वाधीनता र माटोको लडाई लड्दै छ। अहिले युक्रेन भित्रबाट नै उठेको छ । पछुताउबाट युक्रेन नेतृत्व पछि हट्ने अवस्था छैन। इतिहासलाई प्रमाणित गर्नु छ नेत्तृत्वले र जनतालाई नेतृत्वको विश्वास दिलाउनु छ। यसलाई सच्याउन अब अमेरिकालाई पनि धौधौ पर्न सक्छ। किनकि युद्धमा रसिया धेरैअगाडि पुगिसकेको छ। रसिया पनि विश्व राजनीतिमा शक्तिको रुपमा उदय भइसकेको छ। यो युद्धले नेटो र पश्चिमा लाई यसको जवाफ दिँदैछ रसिया। जुन कुरो रसियाले लडाइका पहिला दिनहरुमा सोचेको थिएन । उसले चेचेन्या र क्रिमिया जस्तै सजिलै युक्रेनलाई लिनसक्ने सोचाई राखेको थियो ।अहिले रसियाले युद्ध नीतिमा नै परिवर्तन गरेको छ ।जसबाट अमेरिका र नेटोका देशहरु केही पछि हटेका छन्। रसिया युक्रेनको युद्धमा लामो समयसम्म बस्न चाहँदैन भन्नेकुरा अमेरिकालाई थाहा छ ।अमेरिका यसैमा खेल खेल्न चाहन्छ। रसियाले बारम्बार युक्रेन सँग वार्ताका लागि बाटो खुला राखेको छ र उसले दिनुपर्ने सन्देश पश्चिमाहरु लाई दिइसकेको छ । युक्रेनको नष्ट भन्दापनि पश्चिमाहरूको आवाज कमजाेर बनाउने लक्ष्यमा रसिया प्रायः सफल भएको छ । रसिया युद्धलाई युक्रेनमा मात्र सीमित राख्न चाहँदैन भन्ने कुरा पश्चिमाहरुले विश्वास गरेका छन्। तर यो विषयमा रसिया युद्ध रणनीतिहरु पूर्ण रूपमा बाहिर आएका छैनन्।

सञ्चारमाध्यमहरूमा पश्चिमा सञ्चारहरूको बाेलाबाला छ। यिनै समाचारहरु हामी समक्ष आइपुग्छन् । युक्रेनले भौतिक युद्ध हारिरहेको छ तर पश्चिमा सञ्चार माध्यमहरुले युक्रेनलाई युद्ध जिताइरहेका छन् । आखिरमा यो जित कसको हुन्छ। युक्रेन,रसिया वा अमेरिकाको? यो बुझ्न दशक कुर्नु पर्छ तर यसको आभास अहिले मिल्न थालिसकेको छ। यसले अन्तर्राष्ट्रिय राजनीतिमा धु्र्विकरण गर्ने निश्चित छ। ठूला शक्तिराष्ट्रहरूको उपयोगबाट आफ्नो भूमि र राष्ट्रियतालाई कसरी जोगाउने भन्ने विषयमा अरु राष्ट्रहरुले सोच्नुपर्ने दिन आइसकेको छ। असंलग्न राष्ट्रहरूको संगठन , संयुक्त राष्ट्रसंघ जस्ता संस्थाहरु निरीह र शक्तिराष्ट्रहरूको चेपुवामा परेका छन् ।अब यस्ता विश्व संस्थाहरुबाट शक्तिविहीन र साना राष्ट्र गुटउपगुटको चेपुवाबाट जोगिने विषयमा ठूलो प्रश्न उठेको छ। पहिलो विश्वयुद्ध भन्दा अगाडिकाे तरल अवस्थामा विश्व पुगेको छ। अहिलेको विश्व सन्तुलन आणविक बमले गरेको छ। आणविक राष्ट्रहरुले आणविक बमलाई विध्वंशको हतियार बनाएका छन्। तर यसको प्रयोगले विश्व नष्ट हुन्छ भन्ने कुरो सबैलाई थाहा छ । यही हतियारको प्रयोगको असरकाे डर विश्व राजनीतिमा शक्तिसन्तुलनकाे अस्त्र बनेको छ। विश्व नेतृत्व ,संघसंस्था , धार्मिक नेतृत्व तथा व्यक्तिहरु विध्वंश रोक्न झन्डैझन्डै असाहाय जस्तै बनेका छन्।

युक्रेनका जनताले युद्ध होला र यो अवस्थामा पुगिएला भन्ने सोचेका थिएनन्। उनीहरुलाई नेतृत्वप्रति विश्वास थियो । माटो, स्वाधिनता र राष्ट्रियताको माया सबैलाई हुन्छ। आज युक्रेनी जनताहरु स्वाधिनताको लडाई लड्दै छन्। रसियालाई युक्रेनको स्वाधीनता भन्दा आफ्नो सक्ति रक्षा , अमेरिका र नेटोको विस्तारले रसियामा पर्ने सबै प्रभावलाई निस्तेज गर्नु छ। जुन कुरा रसिया चुकाउन चाहँदैन। आज युक्रेनका जनता पीडित छन्। रोइ रहेका छन्। मरेका छन्।। देश छाडेर निर्वासित भएका छन्। सबैको मन रोएको छ ।युद्ध कसैलाई चाहिँदैन। तर युद्ध भएको छ। यसको ठूलो मानवीय संकट युक्रेनमा परेको छ । विश्वका जनता युक्रेनका जनताको साथमा छन्। उनीहरूको दुःखमा आँसु बगाउँदै छन्। खेलाडीको खेलमा दया, माया, प्रेम आसुकाे असर पर्दो रहेनछ।जुन युक्रेनका जनताहरुले भोगिरहेका छन्। ईश्वरले युक्रेनी जनताप्रति न्याय गरुन। उनीहरूको स्वाधीनता जोगियोस्। राष्ट्रियता अमर रहोस। स्वाधिनता खण्डित नहोस्। जुन सद्बुद्धि खेलाडीहरु सम्ममा पुर्याउन विश्वका मानवहरु एक हुनु जरुरी छ। हामी संसारका न्यायप्रेमी मान्छेहरु‌ प्रार्थना बाहेक केही गर्न सक्दैनौ।

युक्रेन किन युद्धमा होमियो। यसका केही कडीहरु छन्। तत्कालीन सोभियत रूसकाे टाउकोको रुपमा रहेको युक्रेन नब्बेको दसकपछि यूरोपीय शक्तिशाली देशको रुपमा स्थापित हुन चाहन्छ। परम्परागत र आधुनिक शक्ति दुवैबाट लैस युक्रेन नेटो र अमेरिकाको सहायताले युरोपको नजरले रसियालाई हेर्न चाहन्छ। जुन रसिया कदापी चाहँदैन। दुईतिहाइ सिमाना रसिया सँग छ। तर फ्रान्स, जर्मनी, बेलायतको हाराहारीमा व्यापार प्रविधि र अन्तर्राष्ट्रिय समुन्द्रको हिसाबले युक्रेन रसिया सँग प्रतिस्पर्धा गर्न चाहन्छ। युरोप हुन चाहन्छ ।रणनीतिक असफलताले अहिले युक्रेन भताभुङ्ग भएको छ। अहिले युक्रेन माथि स्वाधीनता मै प्रश्नचिन्ह उठेको छ।हिजो र आजको युक्रेनका रणनीतिहरू फरक हुनसक्छन। हिजो युक्रेन रसियाबाट मुक्त हुन चाहन्थ्यो भने युद्धपछि युक्रेन रसियाबाट मुक्त हुन सक्ने अवस्था छैन। सदियौकोलागि युक्रेनले एकपटक आफ्नो अस्तित्वको लडाई लड्दै छ । यो अमेरिकाको उक्साहटमा उसले गरेको ठूलो गल्तीकाे रूपमा अन्तर्राष्ट्रिय समुदायले युद्धको विश्लेषण गरिरहेको छ।

दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रहरू आमनेसामने भएको यो प्रथमपटक हाे। र यसलाई तेस्रो विश्वयुद्धको कास्टिङको रुपमा पनि हेरिएको छ । युद्धको अस्त्र आणविक बम नै युद्धको रक्षाकवच बनेको छ । युद्धलाई शान्त गर्ने तीनवटा रणनीति देखिन्छन्। प्रथम रसियालाई युद्ध अन्त्य गर्न प्रोत्साहित गर्ने र पश्चिमाहरूको अदुरदर्शी आलोचनाबाट रसियालाई मुक्त गर्ने, युक्रेनलाई नेटोको सदस्य नबनाउने नेटो राष्ट्रले घोषणा गर्ने, पश्चिमाहरू र अमेरिकन गुटबाट मुक्त भइ यूराेपियन र नन् इङलिस राष्ट्रहरुले शक्तिशाली गुटको बफरजनको काम गर्ने र युक्रेनको रक्षा र पश्चिमाहरूको प्रतिबन्ध कम गर्ने विषयमा रसियालाई विश्वस्त गराउने। यो विषयमा चीन ,भारत फ्रान्स, जर्मनी जस्ता देशहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन्।

नेपालजस्ता साना र अविकसित राष्ट्रहरुले विश्व शक्ति राष्ट्र हरुसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने विषयमा युक्रेनको युद्धले राम्ररी शिक्षा दिएको छ।

यो लेखका लेखक नेपाल सरकारका सहसचिव हुन । हामिले यो लेख फेसबुक वालबाट साभार गरेका हौं ।

२७ फाल्गुन २०७८, शुक्रबार १३:३८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading