वि.सं.२०८३ जेठ ३१ आइतवार

घलेले गरे एनआरएनएको निर्वाचन समिति पुनर्गठन, पन्त पक्षले भन्यो- मान्दैनौं

khanepani

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन् ।

गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन् ।

कुमार पन्त नेतृत्वको संघका वर्तमान कार्यसमितिले विधान अनुसार काम नगरेको र कार्यकाल सकिएको लामो समयसम्म चुनाव हुन नसकेको भन्दै प्रमुख संरक्षक घलेले यस्तो निर्णय गरेका हुन् । वर्तमान कार्यसमितिले मार्च २४ र २५ गते महाधिवेशन गराउने तयारी गरिरहेको छ । यसका लागि आज शुक्रबारसम्म मनोनयनको मिति राखिएको छ ।

उम्मेदवारी मनोनयनको अन्तिम मिति शुक्रबार भए पनि अध्यक्षका प्रत्यासी कुल आचार्यले उम्मेदवारी मनोनयन गराएनन् । यो विधान विपरित भएको भन्दै आफूले विधान अनुरुप हुने मनोनयनमा मात्रै सहभागिता जनाउने आचार्यले दावी गरेका छन् ।

पन्त पक्षधरले तोकेको निर्वाचन मितिलाई नै नजिक हुने गरी घलेले मार्च २२ देखि २५ तारिख गर्ने घोषणा गरेका छन् । घले पक्षले संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह–संयोजकमा अर्का उपाध्यक्ष मन केसी रहेका छन् । आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने छन् । दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११ ) सम्म काठमाडौंमा आयोजना हुने बताइएको छ ।

संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति गठन गरेको घलेले बताएका छन् । गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुमध्ये ५० भन्दा बढी एनसीसीहरुले गत आइतबार एक बैठक गरी प्रमुख संरक्षक घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट दिएका थिए ।

घलेले छुट्टै निर्वाचन समिति समेत बनाएको छ । निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरुमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), विमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहेका छन् ।

गत अक्टोबर २०२१ मा हुनुपर्ने दशौं महाधिवेशन र निर्वाचन प्रतिनिधि विवादका कारण हुन नसके पछि आइसीसीले प्रमुख संरक्षक घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । उच्चस्तरीय समितिले झन्डै २ हजार ६०० मतदाताहरु रहेको सूची तयार गरेको छ । सोही सूचीको आधारमा निर्वाचन गराइने जनाइएको छ । तर यसलाई पन्त पक्षधरले भने स्वीकार नगर्ने बताएको छ । आफूहरुले नै निर्वाचन गराउने र तोकिएको समयमा नै निर्वाचन हुने पन्त पक्षधरको दावी छ ।

एनआरएनए अध्यक्ष कुमार पन्त पक्षधरले भने प्रमुख संरक्षकको रुपमा घलेको कदम विधान विपरीत भएको बताएको छ । पन्त पक्षका एनआरएनए नेता चिरन शर्माले आज मनोनयनको काम सकिने र निर्धारित समयमा निर्वाचन हुने बताए । एकतर्फी रुपमा कुनै व्यक्तिले गरेको निर्णयलाई संघले मान्यता नदिने उनले बताए ।

‘अहिलेको वर्तमान कार्यसमितिले जे गरिरहेको छ विधान अनुसार गरिरहेको छ, अर्को पक्षधरले गरेका गतिविधि सही छैनन्,’ उनले भने, ‘अब फुटबाट संस्था जोगिने अवस्था छैन, तर पनि अझै वार्ताबाट समाधान खोज्नु सबैका लागि राम्रो होला ।’ अब संस्था फुटबाट जोगिने सम्भावना भने अत्यन्तै कम रहेको छ । उनले सरकारले समेत अर्को पक्षधरता लिएकाले पनि समस्या भएको बताए ।

ranechhap