वि.सं.२०८३ वैशाख २० आइतवार

निर्णयको प्रक्रियामा सहभागी नगराइएको भन्दै कांग्रेस केन्द्रीय सदस्यको असन्तुष्टि

khanepani

काठमाडौं। पार्टीको महत्वपूर्ण विषयको निर्णय प्रक्रियामा सहभागी नगराएको भन्दै नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यले असन्तुष्टि जनाएका छन् ।

स्थानीय निर्वाचन लक्षित प्रचार अभियानको निर्णय गर्दा आफूहरुको धारणा समेत नसुनिएको केन्द्रीय सदस्य नैनसिंह महरले बताए । ‘केन्द्रीय समितिको बैठक नै नबोलाएर अथवा केन्द्रीय सदस्यलाई आगामी अभियान र रणनीति तय गर्दा समावेश नगरी अभियानको स्वामित्व र प्रभावकारिता कसरी हुन्छ ?’ उनले प्रश्न गरेका छन् ।

केन्द्रीय समिति, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसमेतको बैठकबाट यस्ता अभियानको रणनीति तय गर्नुपर्ने नेता महरले बताए । मंगलबार कांग्रेसको चुनाव प्रचार अभियानको तयारीका लागि बसेको बैठकमा महरले भने, ‘विधानभन्दा बाहिर गएर पदाधिकारी र कार्यसम्पादन समिति बैठकको हवाला दिएर निर्णय गर्न पाईंदैन ।’

कांग्रेसको ३ फागुनको कार्य सम्पादन समितिको बैठकले २९ फागुनदेखि एक महिनासम्म चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर महत्वपूर्ण निर्णय गर्दा केन्द्रीय सदस्यहरुको विचार नसुनिएको महरको गुनासो थियो । ‘निर्णय निर्माण गर्ने संस्था भनेको केन्द्रीय समिति हो । केन्द्रीय समितिको गरिमा, अधिकार र कर्तव्य र यसको ओझ घटाउने काम गर्नुहुदैन ।’

महरको भनाइमा अन्य केही केन्द्रीय सदस्यहरुले पनि समर्थन जनाएका छन् । प्रचार अभियानका लागि तय गरिएको नारामा समेत संशोधनको माग गरिएको छ ।

अभियानको नारा ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ राखिएको छ । चुनाव अभियानको तयारीलाई अन्तिम रुप दिन कांग्रेस शीर्ष नेतासहितको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

ranechhap