काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाललाई फिर्ता गर्न माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेका छन् ।
सम्पदा पुनर्निर्माणलगायत उपभोक्ता समितिमार्फत भएका कामको भुक्तानी नदिई दुःख दिएको, आन्तरिक राजनीतिक गतिविधिमा सहभागी भएको र अनुचित आर्थिक लाभमा सहभागी भई नगरपालिकाका काममा असहयोग गरेको आरोप नगर प्रमुख श्रेष्ठले रिजाललाई लगाएका छन् ।
बडादशैंका बेला नियमित वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्तासमेत प्रशासकीय प्रमुख रिजालले रोकेको बताउँदै प्रमुख श्रेष्ठले भने, ‘कर्मचारीले नगरपालिकाको हितमा काम गर्ने हो, राजनीति गर्ने होइन, तर यहाँ त प्रशासकीय प्रमुखले नै राजनीति गर्ने, जनप्रतिनिधिसँग कार्यपालिका बैठक नै नराख्न मिलेमतो गर्ने, विकासका कामलाई लथालिङ्ग पार्ने काम भयो, नगरपालिकाविरुद्ध लागेको प्रमाण आएपछि बाध्य भएर कारवाही गरी फिर्ता पठाउन पत्र लेखेको हुँ ।’
अधिकृत रिजाललाई कर्मचारी भएर आन्तरिक राजनीतिक गतिविधिमा संलग्न भएको र गत वर्ष बेरुजु ठहर गर्दा पनि नगरपालिकाबाट थप मासिक रु १८ हजार भत्ता खाएको नगर प्रमुख श्रेष्ठले आरोप लगाए ।
कोभिड–१९ को महामारीमा महिनामा एक दिन कार्यालय आउने र अरु दिन नगरपालिकाका कागजात घरमै लगेर कर्मचारीलाई घरमा धाउन बाध्य पारेको र दशैं अगाडि उपभोक्ता समितिलाई भुक्तानी नदिन प्रयास गरेको दोषापरोण पनि उनले गरे ।
नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना प्रतिकार्यका लागि एक करोड रुपैयाँ निकासा गर्ने निर्णयविरुद्ध भूमिका खेलेको, समयमै रकम नदिई कोरोना संक्रमित नगरवासीको उपचारमा असहयोग गरेको र कार्यपालिका बैठक बस्नै नदिन भूमिका निर्वाह गरेको आरोप पनि रिजालमाथि छ ।









































