वि.सं.२०८३ असार १६ मंगलवार

उपप्राध्यापकको परीक्षा प्रभावित नपार्न अनेरास्ववियुको आग्रह

khanepani

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले तोकेकै समयमा उपप्राध्यापकलगायतका विज्ञापनको परीक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

अनेरास्वियुले त्रिविको विभिन्न निकायमा र त्रिवि सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिका आधारमा तुरुन्त खुल्ला गरी विश्वविद्यालयका अन्य गतिविधिहरू नियमितरूपमा गर्न ध्यानाकर्षण गराएको हो ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गदै त्रिविमा कार्यरत आंशिक शिक्षकहरूबाट नै तालाबन्दी गरेर योग्य शिक्षकलाई विश्वविद्यालयमा प्रवेश गर्न अवरोध गर्ने कार्य शैक्षिक अराजकताको पराकाष्ट भएको टिप्पणी गरेकी छन् ।

‘स्वच्छ र मर्यादितरूपमा आयोगको परीक्षा सञ्चालन गर्ने वातावरण बनाउन अनेरास्ववियुले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको समेत जानकारी गराउँदै प्राध्यापक, कर्मचारी तथा विद्यार्थी संघ संगठनहरूलाई समेत भयरहित वातावरणको निर्माणका लागि जिम्मेवार बन्न आग्रह समेत गर्दछौं । कथमकदाचित आयोगको परीक्षा प्रभावित गरेमा वा स्थगित गरेमा अनेरास्ववियु त्यस्तो कदमको विरुद्धमा जस्तोसुकै कदम चाल्न पनि पछाडि नपर्ने कुराको चेतावनी यसै विज्ञप्ति मार्फत दिन चाहन्छौं ’, अनेरास्ववियुले भनेको छ ।

अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा लामो समयदेखि तालाबन्दी गरेर उपप्राध्यापक पदका लागि लिईने परीक्षालाई प्रभावित गर्ने केही समूह लागि परेको पनि जनाएको छ ।

सर्वोच्च अदालतको निर्देशन बमोजिम त्रि वि सेवा आयोगले उपप्राध्यापकका लागि लिखित परीक्षाको तालिका समेत सार्वजनिक गरेको छ ।

ranechhap