वि.सं.२०८३ असार १६ मंगलवार

‘गठबन्धनबीच चुनावी तालमेल गर्ने अवस्था मैले देखेको छैन’

khanepani

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् ।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन् ।

बुधबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्कसमेत गरे । तर यस विषयमा सत्तारुढ दल भित्र भने कुनै छलफल भईनसकेको उनको स्पष्टीकरण छ ।

प्रवक्ता महतले आवश्यक्ताको सिद्धान्त र आ-आफ्नै फाईदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुटनुपर्ने अवस्था रहेको दोहोर्‍याए । स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको बताए ।

प्रवक्ता महतले भने, ‘अब बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । ३० गते नै त्यो सम्पन्न हुन्छ । त्यसमा कुनै दुविधा छैन । यो निर्वाचन गठबन्धनकै नेतृत्वमा अगाडि बढछ । जहाँसम्म गठबन्धन सरकारमा बसेका दलहरुले यो निर्वाचन पनि गठबन्धन गरेर जान्छ कि जाँदैन भन्ने विषय छ । अव स्थानीय निकायको निर्वाचन अलि ठूलो संख्यामा हुने र हाम्रो पद्धति पनि । स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति पनि छ । त्यसले गर्दा यो केन्द्रिय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्ने भन्ने त्यो अव्यवहारिक हुन्छ । र, विधानतः पनि त्यो सम्भव हुँदैन ।

प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतीमा लिएर संसद सूचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताए । उनले सभामुख अग्नीप्रसाद सापकोटा र माधव नेपालसहितका १४ जना सांसदको विषय अदालतमा विचाराधिन मुद्धा भएकाले त्यसलाई छाडेर एमालेले संसद सूचारु गराउन पुनर्विचार गर्नुपर्ने धारणासमेत राखे ।

चालु अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्ष दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतिमा ल्याएर संसद सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने उनको तर्क थियो ।

प्रवक्ता महतले भने, ‘ बजेट अधिवेशनमा त सम्पूर्ण दलहरु खासगरी विपक्ष दलहरुको अनिवार्य सक्रिय सहभागिताबाट नै यो बजेट अगाडि जाने र यसलाई सम्पन्न गर्ने, यसलाई टुंगो लगाउने कुरा नै हुनुपर्छ भन्ने हाम्रो काँग्रेसको भनाई छ । र, त्यही अनुसार हामी उहाँहरुलाई सहमतिमा ल्याउनका लागि हाम्रो पार्टीले, प्रधानमन्त्रीले, हाम्रो दलले त्यो कोसिश जारी राख्छ ।’

प्रवक्ता महतले एमालेलाई सहमतीमा ल्याएर संसद सूचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले संवादलाई निरन्तरता दिने बताए ।

ranechhap