काठमाडौँ । आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि काँग्रेसका नेताहरूले त्यसबारे छलफल सुरु गरेका छन् ।
केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यहरूले काँग्रेसले अपनाउनुपर्ने चुनावी रणनीतिबारे केन्द्रीय कार्यालयमा विज्ञहरूसँग छलफल गरेका हुन् ।
छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सह महामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे सहभागी थिए ।
त्यस्तै, केन्द्रीय सदस्यहरू सीता गुरुङ, गोविन्द भट्टराई, सुरेन्द्र पाण्डे, अजयबाबु शिवाकोटी, नैनसिंह महर, नानु बाँस्तोला, प्रदीप सुनुवार र मुख्यसचिव एवम् राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेल लगायत नेताहरू सहभागी थिए ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले स्थानीय तहको निर्वाचनको मिति करिब-करिब टुङ्गो लागेकाले त्यसको रणनीतिक तयारी बनाउने सन्दर्भमा छलफल भएको बताए ।
‘गत निर्वाचनमा देशभर कुन पार्टीको अवस्था कस्तो थियो ? कुन दलले कति सिट जितेका थिए ? भन्नेबारे तथ्यांकीय विश्लेषण र छलफल भयो,’ केन्द्रीय सदस्य शिवाकोटीले भने, ‘त्यसबारे अझै विस्तृत तथ्यांकीय विश्लेषण गरेर पार्टीले चुनावी रणनीति बनाएर अघि बढ्नुपर्छ भन्ने हो ।’
छलफलका क्रममा धेरै मतान्तरले काँग्रेस पराजित भएका स्थान, कम मतले पराजित भएका स्थान, तत्कालीन गठबन्धनले पुर्याएको लाभ र तालमेल भएपनि चुनावी नतिजा अर्को पक्षमा गएका स्थानका बारेमा विज्ञहरूले तथ्य प्रस्तुत गरेका थिए । छलफलमा स्थानीय तहका विज्ञ तथा सांसद खिमलाल देवकोटा र काठमाडौँ विश्व विद्यालयका प्राध्यापक कृष्ण पौडेल सहभागी थिए ।







































