बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा गत शुक्रबार प्रदेशको स्थायी राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव दर्ता भएसँगै सुरू भएको प्रदर्शन तथा हिंसापछि आइतबार बिहानदेखि बुटवलका सडक सुनसान छ।
बुटवललाई नै राजधानी बनाउनुपर्ने अडानमा विपक्षी दल नेपाली कांग्रेस छ। उसले प्रदर्शनदेखि बन्दसम्मका कार्यक्रम गरेको हो।
प्रदर्शन र हिंसा उग्र बनेपछि स्थानीय प्रशासनले चार दिनसम्म निषेधाज्ञा लगाएको छ
यसैबीच कांग्रेसले आइतबार रूपन्देही बन्द गरेको छ। बन्दले मुख्य राजमार्गमा सवारी साधन चलेका छैनन्। प्रदेशका मन्त्रालय, प्रदेश सभा सदस्यका निवास तथा सरकारी कार्यालय वरपरमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।
सडकमा सुरक्षाकर्मी परिचालन भएका छन्। उद्योग तथा पसलहरू खुलेका छैनन्।
प्रहरीले सुरक्षा व्यवस्था कडा बनाए पनि कांग्रेससहित विभिन्न संघसंस्थाले आज बुटवलमा प्रदर्शन गर्न लागेका छन्। प्रशासनले गए रातिदेखि लागू हुने गरी एक दर्जन बढी ठाउँमा निषेधाज्ञा लगाएको छ।
बुटवलमा नेपाल प्रहरी र शशस्त्र प्रहरी परिचालन गरिएको छ।
प्रदेशको राजधानी दाङ सार्न प्रदेश सरकारले निर्णय गरी प्रदेशसभामा प्रस्ताव दर्ता गरेपछि विरोध भइरहेको छ। राजधानी दाङ सार्ने प्रस्तावका पक्षमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना सांसदलाई मतदानका लागि ह्वीप लगाउने तयारी गरेको छ।
सोमबार दिउँसो १२ बजे प्रदेशसभा बैठक बस्दैछ। उक्त बैठकमा राजधानी र नामबारे दर्ता भएको प्रस्तावबारे छलफल हुनेछ।
स्थायी राजधानी दाङ सर्न लागेपछि कांग्रेस, रूपन्देहीका स्थानीय तहलगायतले विज्ञप्ति निकालेर निर्णय सच्याउन माग गरेका थिए।
बुटवलमा नेविसंघ, तरूण दलसहित कांग्रेस कार्यकर्ताले सडकमा टायर बालेर प्रदर्शन पनि गरेका थिए। सो क्रममा प्रदर्शनकारीले स्कुटीमा समेत आगो लगाइदिएका थिए।
राजधानी बुटवलबाट दाङ सार्ने पक्षमा नेकपाका १४ सांसद पनि असन्तुष्ट छन्। शनिबार बसेको नेकपा प्रदेशसभा संसदीय दलको बैठकमा उनीहरूले लिखित रूपमा फरक मत राखेका थिए।









































