काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ।
शुक्रबार बिहान करिब साढे ९ बजेदेखि अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।
‘अध्यक्षद्वयबीच भेटवार्ता जारी छ,’ उनले भने।
भेटवार्ताका विषयबारे उनले खुलाएनन्।
तर प्रधानमन्त्री ओलीले राजदूत नियुक्तिमा एकलौटी गरेकोलगायत विषयमा छलफल भएको स्रोतको दाबी छ।
प्रधानमन्त्रीले आफ्ना आर्थिक सल्लाहकारसमेत रहेका पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्त गर्न बिहीबार मन्त्रिपरिषदबाट सिफारिस गरेका थिए।
राजनीतिक नियुक्ति हुँदा पार्टीमा छलफल गर्ने स्थायी कमिटी बैठकको निष्कर्ष रहेको भन्दै केही सचिवालय सदस्यले मन्त्रिपरिषदको बिहीबारको निर्णयको विरोध गर्दै आगामी सचिवालय बैठकमा यसबारे कुरा उठाउने बताएका थिए।









































