वि.सं.२०८३ वैशाख १८ शुक्रवार

मृत भेटिए काठमाडौंको शंखरापुरमा एक दम्पती

khanepani

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३, बोजेनीमा एक दम्पती सुतेकै अवस्थामा मृत भेटिएका छन् ।

बुधबार राति खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङ मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार बिहीबार बिहान ७ बजेसम्म पनि उनीहरुले ढोका नखोलेपछि जेठो छोरा २६ वर्षीय सूर्यबहादुर थिङ ढोका फुटाएर घरभित्र प्रवेश गरेका थिए । त्यसक्रममा दुवै जना मृत अवस्थामा भेटिएको भन्दै उनले प्रहरी वृत्त, बौद्धमा खबर गरेका थिए ।

त्यसपछि प्रहरी वृत्त, बौद्ध र अपराध अनुसन्धान महाशाखाको टोली गएर अनुसन्धान गरेको थियो । अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरु राति माकल बालेर सुतेका थिए ।

राति नै निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरी अधिकृतहरुको अनुमान छ । प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा लगेको थियो ।

डाक्टरहरुले पनि शवमा बाहिरी चोटपटक नदेखिएको र निस्सासिएकै कारण मृत्यु भएको हुनसक्ने बताएका छन् । मृत्युको विस्तृत कारण पोष्टमार्टमपछि चिकित्सकले दिने प्रतिवेदनमा उल्लेख हुने प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको एसपी मैनालीले बताए ।

ranechhap