काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्र बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि गत बुधबार परीक्षणका लागि स्वाब दिएका डेपुटी गभर्नर श्रेष्ठलाई बिहीबार कोरोना पुष्टि भएको हो ।
आफूलाई बिहीबार कोरोना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिरहेको श्रेष्ठले जानकारी दिए । कोरोना लागेपनि आफू स्वस्थ रहेको उनले बताए ।
‘पुष्टि हुनु भन्दा अगाडि रुघाखोकी लागेपनि अहिले स्वस्थ छु’ श्रेष्ठले भने, ‘डराउनुपर्ने केही छैन, कुनै असहज लक्षण पनि देखिएको छैन ।’
हालसम्म परिवारका अन्य सदस्यमा पुष्टि भइनसकेको उनले जानकारी दिए । डेपुटी गभर्नर श्रेष्ठलाई कोरोना संक्रमण भएसँगै केन्द्रीय बैंकका कर्मचारीहरुमा कोरोना पुष्टि भएकाको संख्या ३१ पुगेको छ ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालयदेखि विभिन्न विभाग, महाशाखा तथा प्रदेश कार्यालयहरुका कर्मचारीहरुमा कोरोना देखिएको थियो । राष्ट्र बैंक श्रोतका अनुसार ३१ कर्मचारी र ती कर्मचारीका आफन्त गरेर हालसम्म ६५ जनामा कोरोना पुष्टि भइसकेको छ ।









































